नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले दक्षिण एसियाली खेलकुद सागका लागि यथाशिघ्र तयारी शुरु गराउन माग गरेको छ । बिहिबार काठमाडौंमा खेलाडी संघले नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाललाई स्वागत तथा बधाईका साथै १३ बुँदे ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो । सागका लागि करिव चार महिनाको समय बाँकी रहेको अवस्थामा पनि खेलाडीले उचित प्रशिक्षण गर्न नपाएको गुनासो गरे । यससँगै खेलाडी संघले खेलाडीको हौसला र युवा पिँढीलाई खेलमा आकर्षित गर्नका लागि सुविधा बढाउनु पर्ने माग गरे ।


दक्षिण एसियाली खेलकुदमा रजत र कास्य पदक विजेतालाई पनि आजीवन भत्ता दिनुपर्ने माग खेलाडी संघको छ । अहिले स्वर्ण पदक विजेतालेमात्र यस्तो सुविधा पाउँदै आएका छन् । संघले बुझाएको ध्यानाकर्षण पत्रमा साग, एसियाली खेलकुद, र ओलम्पियनलाई पनि दिइँदै आएको आजीवन भत्ता सागका रजत र कास्य पदक विजेता खेलाडीले पनि पाउनु पर्ने उल्लेख छ । यस्तै खेलाडीलाई शिक्षा, स्वास्थ्य, यातायात लगायतका सामाजिक सुरक्षामा पनि सुविधा हुनु पर्ने माग पनि राखेका छन् । यस्तै प्रतियोगिता सकिएको लामो समयसम्म पनि पुरस्कार नदिइने वर्तमान प्रबृत्तिको अन्त्य हुनु पर्ने माग गरेको छ । माग पत्र ग्रहण गर्दै सदस्य सचिव सिलवालले आफू खेलकुद र खेलाडीको बारेमा जानकार रहेको र खेलाडीको जायज माग सम्बोधन हुने आस्वासन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार