पोखरा, जेठ ।
विश्वकप क्रिकेटमा आज श्रीलंकाले बंगलादेशसँग खेल्दैछ । ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा यि दुई देशबीचको खेल सुरु हुनेछ । अहिले सम्म दुवै टिमले समान तीन–तीन खेल खेलेका छन् । श्रीलंकाले तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ । उता बंगलादेशले यसअघि खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

दुवै टिम जारी विश्वकपमा दोस्रो जितको खोजीमा हुनेछन् । अहिले विश्वकपमा कमजोर मानिएको बंगलादेशसँग पनि श्रीलंका डराउनु पर्ने अवस्था आएको छ । यता, बंगलादेशले भने जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले सनसनीपूर्ण जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । त्यसकारण बंगलादेश पछिल्लो समयमा बलियो टिममा गनिएको छ ।





