पोखरा, जेठ ।
दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरमा बिहिबार नेपाली टोलीको विदाई गरेको हो । नेपालले यहि जुन २ मा मलेसियासंग र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ । विराज महर्जनको कप्तानीमा रहेको २३ सदस्यीय नेपाली टोली मलेसिया प्रस्थान गर्नेछन् । नेपाली टोली मुख्य दुई स्ट्राइकरबिना मैदान उत्रनेछन् । मुख्य प्रशिक्षक योहान कालिनले दुई खेलका लागि दुई फरवार्ड विमल घर्ती मगर र भरत खवासलाई टिममा राखेका छैनन् । फिटनेसमा कमजोर भएको कारण विमललाई टिममा नराखिएको हो । यस्तै भरत चोटका कारण टिमबाहिर परेका हुन् । नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् । नेपाली टोलीलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले विदाई गरेका थिए । एन्फा अध्यक्ष शेर्पाले नेपालको प्रतिष्ठालाई आत्मसाथ गर्दै खेल प्रस्तुत गर्न आग्रह गर्नुभयो । नेपाली टोलीमा गोलकिपर किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने , डिफेन्डरहरु विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबि सिलवाल रहेका छन् । त्यस्तै मिडफिल्डर रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ छन् भने फरवार्ड अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ छन् ।

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सुदुरपश्चिम प्रदेश र प्रदेश नम्बर ५ बीचको खेल रद्द भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहिबार वर्षाले खेल प्रभावित गरेपछि सुदुरपश्चिम र प्रदेश ५ बीचको खेल नतिजाविहीन बनेको हो । खेल नतिजाविहीन बनेसंगै दुवै टोलीले एक एक अंक बाडेका छन् । सुदुरपश्चिमले दिएको १८९ रनको मध्यम लक्ष्यसहित प्रदेश ५ ले जवाफी ब्याटिङ गरिरहदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनः सुचारु हुन सकेन । वर्षाले खेल रोकिनुअघि प्रदेश ५ ले १९ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएको थियो । प्रदेश ५ का लागि सुबेन्धु पाण्डेले २९ रन जोडेका थिए । सुदुरपश्चिमका विनोद लामाले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९ ओभर ५ बलमा अलआउट हुँदै १८८ रन बनाएको थियो । सुदुरपश्चिमका लागि खडक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै नरेश बोहराले ३१,नरेन्द्र साउदले २१ तथा लोकेश बमले १९ रन बनाए । प्रदेश ५ का लागि जितेन्द्र सहानी, सिदान्त शाही र कृष्ण कार्कीले २–२ किकेट लिए । यस खेल रद्द भएसंगै समूह ’ए’ का दुवै टोलीले पहिलो १–१ अंक जोडेको छ ।
विराटनगरमा आजबाट प्रदेशस्तरीय कुस्ती प्रतियोगिता शुरु भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजना र पुर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको ब्यवस्थापनमा शुरु भएको प्रतियोगिताको सामाजिक विकासमन्त्री जीवन घिमिरेले उदघाटन गर्नुभयो । विराटनगर १४ जतुवास्थित पुरानो हवाइफिल्डमा शूरु भएको प्रतियोगितामा प्रदेश एकका झापा,मोरङ,सुनसरी,इलाम र पाँचथरगरि ५ जिल्लाका खेलाडीहरुको सहभागिता छ । दुइदिने प्रतियोगितामा ५० केजी देखी ७० केजीसम्मका विभिन्न ८ तौल समुहका खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । खेलको पहिलोदिन आज ३२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन । प्रतिस्पर्धामा सहभागि खेलाडीलाई अंक र बाइफलका आधारमा छनौट गरिने मोरंग कुस्ती संघका अध्यक्ष मनोजकुमार शर्माले जानकारी दिनुभयो । यसैबीच प्रतियोगिता उदघाटनको अवसरमा कुस्ती खेलाडी श्रीयासु गिरिलाई सम्मान गरिएको छ । हालै नेपालगंजमा सम्पन्न ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा विराटनगरकी गिरिले ७६ केजी तौल समुहमा प्रदेश एकको तर्फबाट स्वर्णपदक हासिल गरेकी थिइन । गिरिलाई सामाजिक विकासमन्त्री घिमिरेले फुलमालाले गर्नुभयो । सो अवसरमा बोल्नहुंदै मन्त्री घिमिरेले आफ्नो मन्त्रालयले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।




