काठमाण्डौ, जेठ ।
विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेश १ ले २६ ओभर ५ बलमा अलआउट हुँदै ९१ रन मात्र जोड्न सक्यो । प्रदेश १ का लागि राजन मगरले सर्वा्धिक २६ रन जोड्दा मुकुन्द यादवले १८ रन बनाए । यस्तै रबी रोयले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्न आर्मीका लागि सुशन भारीले ३ विकेट लिए । यस्तै करण केसीको नाममा २ विकेट रह्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ ओभर ३ बलमा अलआउट हुँदै २०४ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हरि बहादुर चौहानले ४१ तथा कप्तान बिनोद भण्डारीले ३० रन बनाए । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । जितसंगै आर्मीले २ खेलबाट ४ अंक जोडेको छ ।


चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता अर्को साताबाट हुने भएको छ । आयोजक नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १९ बाट २६ गतेसम्म संचालन हुने जनाएको छ । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गर्ने छन् । लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने सैनिक शारीरिक तथा खेलकुद केन्द्रका केन्द्रपति शशि किरण रायमाझीले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो दिन चार खेल हुनेछ । पहिलो खेलमा प्रदेश २ र प्रदेश १ प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा कर्णाली र प्रदेश ३ बीच खेल हुनेछ । तेस्रो खेलमा आयोजक आर्मी र सुदुरपश्चिम खेल्दा अन्तिम खेलमा गण्डकीले प्रदेश ५ को सामना गर्ने छन् । अनुमानित २२ लाख खर्च हुने प्रतियोगिताका लागि मुख्य प्रायोजक इन्भेन्ट्मेन्ट बैंकले १५ लाख उपलब्ध गराउने बताइएको छ ।


नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्टस् अवार्डको १६ औं संस्करण असार तेस्रो साता आयोजना हुने भएको छ । मञ्चले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड आगामी असार १७ गते हुने जानकारी गराएको छ । काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छन् । यस वर्ष एक नयाँ विधा थप गरिएको छ । यस पटक वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । यस्तै थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्ना्लिस्ट अवार्ड रहेको छ । वर्ष खेलाडी महिलारपुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिने मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी जानकारी दिनुभयो । उहाले मञ्चको अवार्डले राष्ट्रिय अवार्डको मान्यता पाएको भन्दै अवार्डलाई नया ढंगले प्रस्तुत गर्ने बताउनुभयो । वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै मञ्चले अवार्डका मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँग सम्झौता नवीकरण गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराजतर्फबाट अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार