पोखरा थिएटरको सातौ प्रस्तुतीको नाटक ‘तिर्खा’ जेठ ९ गते बिहिबारबाट मञ्चन हुने भएको छ । नाटक मञ्चनको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोखरा थिएटरले जनाएको छ । नाटक जेठ २५ गतेसम्म निरन्तर पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुनेछ । नाटक अमेरिकि नाटककार युजिन ओनिलले लेखेका हुन् । जसको परिकल्पना तथा निर्देशन चे शंकरले गरेका छन् । सन् २०१२ मा इलुजन नाटकबाट निर्देशन शुरु गरेका चे शंकरले हालसम्म एक दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् । नाटकमा शरद भण्डारी, रमेशबाबु तिमल्सिना, निश्चल विमल, सीमा गुरुङ, नवराज गिरी, ईश्वर कार्की, विष्णु तिमिल्सिना, सोनिया खत्री, प्रतिभा अधिकारी र दिवानी तामाङको अभिनय हेर्न पाइनेछ । सिमाले सिरुमारानी पछि पुनः रंगमञ्चमा कमब्याक गरेकी हुन् । नाटक ‘तिर्खा’ १६ वर्ष भन्दा माथिको उमेर समुहकाले मात्र हेर्न पाउनेछन् । नाटक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त सोको रुपमा दिउँसो १ बजे समेत मञ्चन हुनेछ । स्टेज, लाइट, ड्रेसअप को राम्रो मिश्रणमा कलाकारको खारिएको अभिनयले दर्शकको मन जित्ने निर्देशक चे शंकरको विश्वास छ ।

गायक सर्जक रमेशबाबु थापा र गायिका अनिता पन्तको “मोयाकै नाम प्यारो” लोकदोहोरी भाकाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पोखरामा बुधबार लोकार्पण कार्यक्रमको आयोजना गर्दै उक्त गीतलाई सार्वजनिक गरिएको हो । रमेशबाबू थापाको लयशब्द रहेको गीतमा अनितालाई थापालेनै स्वरमा साथ दिएका छन् । गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । गीतमा कोरियोग्राफी पनि भट्टकै रहेको छ । रमेशबाबू र सुप्रिया रानाको अभिनय रहेको गीतलाई सार्वजनिक गर्दै नेपाल सँगीत नाट्य प्रतिष्ठानका प्राज्ञ प्रजापती पराजुलीले गीतको सफलताको शुभकामना दिए । उनले कलाकारले गाह्रो हुँदाहुँदै पनि गीत निर्माण कार्यमा निरन्तरता दिएको देख्दा खुशी लागेको बताए । मिहेनत गरेर निरन्तर लागि रहे सफलता एकदिन मिल्ने उनको धारणा थियो । अनिता पन्तको प्रशंसा गर्दै पराजुलीले निरन्तर गीतसँगीतमा लागि रहन प्रेरित गरे । कार्यक्रममा गोर्खा मिलन समाजका अध्यक्ष तिलक तिवारी, मगर चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका तदर्थसमितिका सदस्य गायक कृष्ण सुवेदी, ताण्डव साप्ताहिक पत्रिकाका सम्पादक अर्जुन गिरी, श्रष्टाद्वय रमेशबाबु र अनिता लगायतले बोलेका थिए । सार्वजनिक गीतलाई सँगीत संयोजन विश्वास नेपालले गरेका हुन् । राजेश घिमिरेको छाँयाकन रहेको गीतको म्युजिक भिडियोमा विष्णु शर्माको सम्पादन छ । गीतलाई गायक सर्जक शिव हमालको अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको हो ।


हिमाल पहाड तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस कास्कीले भातृ संस्था नेवि संघलाई चलायमान बनाउने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको उपस्थिति तथा नेवि संघका लागि वनेको काँग्रेस पार्टी जिल्ला निर्देशन समितिका संयोजक आइबहादुर गुरुङको अध्यक्षतामा बुधबार वसेको बैठकले तल्लो तह सम्म नेविसंघ निर्माण गरी चुस्त दुरुस्त र गतिशिल बनाउने निर्णय गरेको हो । बैठकले पाँच वटै स्थानिय तहमा प्रतिनिधि टोली खटाई नेवि संघ निर्माण गर्ने निर्णय गरेको छ । खटिएका प्रतिनिधी मण्डले सम्वन्धित स्थानिय तह अन्तर्गतका मावि तथा उच्च माविहरुमा सदस्यता वितरण गरी प्रत्येक इकाईमा कार्यसमिति गठन गरी संगठन सुदृढिकरण अभियान सञ्चालन गर्नेछन् । बैठकमा नेविसंघका निर्वतमान केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, पूर्व जिल्ला अध्यक्षहरु तथा विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । नेपाली काँग्रेसको केन्द्रीय निति अनुरुपनै नेपाली काँग्रेस कास्कीले प्रथम चरणको जागरण अभियान अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय ओलोम्पिक दिवशका अबसरमा पोखरामा परम्परागत ठेलो खेलको गण्डकी प्रदेश स्तरिय प्रतियोगिता हुने भएको छ । गाउँघरका विभिन्न चाड पर्व विशेष र मेलाहरुमा आयोजना हुने ठेलो प्रतियोगिता पहिलो पटक प्रदेश स्तरिय हुन लागेको हो । ठेलो गण्डकी प्रदेशको परम्परागत खेल हो भने परापूर्व काल देखि खेलिदैं आइएको छ । त्यही ठेलो खेललाई अब साझा खेलको रुपमा भूतपूर्व खेलाडी मंच नेपालले आयोजन ागर्न लागेको हो । मंचको आयोजनामा हुने प्रतियोगितालाई गण्डकी प्रदेश सरकारले सहयोगीको भूमिका निर्वाह गर्ने छ । त्यसै गरि नेपाल ओलोम्पिक कमिटीले प्रवद्र्धन गर्ने भएको मंचले जनाएको हो । प्रतियोगिता आगामी जुन २५ र २६ अर्थात असारको १० र ११ गते पोखराको टुडींखेल मैदानमा हुने भएको मंचले जनाएको छ । प्रतियोगितालाई भब्यताका साथ सम्पन्न गर्न मंचका महासचिब खेम बहादुर गुरुङको संयोजकत्वमा ७ सदस्यिय उपसमिती गठन गरिएको छ । गठित निर्णय मस्यौदाको संयोजकमा तेज गुरुङ र सदस्यमा कृष्ण तिमिल्सिना, प्राविधिक समिति संयोजकमा खड्ग रानाभाट र सदस्यमा विश्व तण्डुकर र कृष्ण गुरुङ, प्रचार–प्रसार संयोजकमा केशव पाठक रहेका छन । त्यसै गरि मैदान व्यवस्थापनमा संयोजकमा दिल बहादुर गुरुङ र सदस्यमा तिलक के.सी., समारोह व्यवस्थापन संयोजकमा हरि प्रसाद पराजुली र सदस्यमा पुष्पा श्रेष्ठ, स्वयमसेवक व्यवस्थापन संयोजकमा जुम प्रसाद गुरुङ र सदस्यमा भरत आले रहेका छन । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा समेत प्रवेश गराउन पहिलो पटक परम्परागत खेल ठेलो प्रतियोगिता हुन लागेको उप समिती संयोजक खेम बहादुर गुरुङले बताएका छन । महिला र पुरुष गरि गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरु दुई दिन सम्म पोखराको टुडिखेल मैदानमा भिड्ने छन । कति खेलाडी सहभागिता हुने भन्ने बारे भन्ने अझै टुँगो नभएपनि उपसमितीको अर्को बैठकले खेलका निर्णयहरु सहित खेलाडीको टुँगो लगाउने संयोजक गुरुङले बताए ।



