पोखरा, वैशाख ।
मजदुर आन्दोलनको सम्झनामा नेपाल लगायत विश्वभर १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईएको छ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय पश्चात सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो । नेपालमा समेत मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । तर, एकै पार्टीका फरक मजदुर संगठन्हरुले छुटछुट्टै कार्यक्रम गरि भावनात्मक एकताका सम्बन्धमा नेकपा नेतृत्व तर्फ प्रश्न तेर्साएका छन् ।

आफुहरुले सर्वहारा वर्गको नेतृत्व गरिरहेको भनिरहेका नेपाल कम्युनिष्ट पार्टीको मजदुर संगठनमा स्पष्ट फरक विचार र आस्थाहरु देखिए । भावनात्मक रुपमा उनिहरुका बिचमा मत भिन्नताहरु रहेका पोखरामा आयोजित साझा कार्यक्रमको फरक मंचहरुले स्पष्ट सन्देस दिए ।
कुनै न कुनै रुपमा यसहले नेतृत्वलाई प्रश्न गरिहेको हुनु पर्छ । व्यक्तिका नाम फेरिन्छन्, संस्था फेरिन्छन् । तर मजदुरका व्यथा उस्तै छन् बिडम्वना नै भन्नुपर्छ कम्युनिष्ट सिद्धान्तलाई आदर्श मान्ने, मजदुरहरुको हकहितको लागि सबैभन्दा बेसी लड्ने दुई तिहाईको बहुमत सहित वामपन्थी पार्टीको सरकार हुँदा पनि मजदुरका समस्या ज्युकाँ त्यही छन् । त्यसमाथी भावनात्मक विचलन पनि ।


विश्वका मजदुरहरु एक हौ भनेर नारा लगाउने पनि यिनै मजदुरहरु हुन् । जसका मुखबाट बारम्बार यि नाराहरु निकै लामो समय सम्म रटान लगाउन लगाईयो । आन्दोलनका हरेक पंक्तिहरुमा उनिहरुलाई नै उभ्याईयो । तर, राजनीतिक विचार र आस्थाको ठेलीले थचक्कै परेका यि मजदुरहरुका अवस्था फेर्न कसैको ध्यान गएको देखिदैन् । फेरी पनि राजनीतिक नेतृत्वले भनिरहेछन्, रात गए अग्राख पलाउछ ।

तरपनि सरकारले सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको छ । श्रमिकको न्यूनतम पारिश्रमिक ३९ प्रतिशतले वृद्धि गरी रु १३ हजार ४५० कायम गरिएको छ । सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकले अब उप्रान्त औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता प्राप्त गर्नेछन् । के यि सवै सुविधाहरु मजदुरहरुले सजिलै प्राप्त गर्न सक्छन् त ?
श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको भएपनि लाखौ श्रमिकहरुले अहिले पनि तोकिएको समय भन्दा बढि नै काम गरिरहेका छन् । सारमा श्रमिकहरुको समस्या सामाधान गर्नका लागी थुप्रै प्रयत्नहरु जरुरी रहेको छ ।

पछिल्लो समय मजदुर दिवसलाई आन्दोलनका रुपमा भन्दा पनि कानूनी अधिकार सुनिश्चितताका लागि लाग्नुपर्नेमा विज्ञहरु जोड दिन्छन् । मालिक र श्रमिक वर्गको सम्बन्ध पनि सुधारको दिशातर्फ अघि बढेको उनीहरुले बताउने गरेका छन् । मे १ मजदुरका लागि आफैमा महत्वपूर्ण दिन हो । श्रमिकका लागि एक उत्सव नै हो । तर पनि नियमित जसो श्रम क्षेत्रका नराम्रा समाचार पत्रपत्रिकामा आइरहँदा ट्रेड युनियनको औचित्य र भूमिकामाथि प्रश्न उठ्ने गरेको छ ।



