पोखरा, ३० फागुन ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का बासिन्दाले हाल उरीमा रहेको वडा केन्द्र अधिकाशं जनतालाई अपायक परेको भन्दै घान्द्रुकमा सर्न माग गरेका छन् ।
त्यसबारे बुधवार गाउँपालिका कार्यालय ढिकुरपोखरीमा आई उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन्।गत वर्षदेखि नै आफुहरुले वडा केन्द्र सार्न पहल गरेपनि कुनै सुनुवाई नभएको र बाध्य भएर एक दिन लगाएर गाउँपालिका आउनु परेको वडा नं. ११ का स्थानीय भुवनेश्वर गुरुङले बताए ।


वडावासीले साविक घान्द्रुक गाविसको एउटा भवन प्रयोग विहिन भएको जनाउँदै वडा कार्यालयलाई उक्त भवनमा नै सार्नुपर्ने तर्क गरे ।साविक घान्द्रुक गाविसमा पर्ने आफ्नो वडाको नाम नै मेट्ने गरी उरीमा केन्द्र राखिएको र केन्द्रको नाममा घान्द्रुकको कुनै पक्ष पनि नजोडिएको भन्दै उनीहरुले दुखेसो समेत पोखेका छन् ।
जवाफमा गाउँपालिका अध्यक्ष युवराज कुँवरले धर्मपत्नीको स्वर्गारोहणका कारण वडाध्यक्ष हिमबहादुर गुरुङ शोकमा रहेको जानकारी दिर्दै आगामि दुई महिना भित्र वडा भेला गरी बहुमतका आधारमा केन्द्र तोक्ने विषयमा गाउँपालिकाले सहजीकरण गर्ने प्रतिबद्घता व्यक्त गरे ।
वडा नं.११ का कार्यवहाक अध्यक्ष इन्द्रमणि जैसीले वडावासीको माग प्रति आफुहरु संवेदनशील रहेको जनाउँदै उपयुक्त समय मिलाएर चाँडै नै त्यसबारे ठोस निर्णयमा पुग्ने आस्वासन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार