काठमाण्डौ, २९ फाल्गुन ।
राष्ट्रियसभा बैठकमा सांसदहरुले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिका बारेमा प्रश्न गरेका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद बलराम बाँस्कोटाले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच सम्झौता हुनु सरकारको महत्वपूर्ण कार्य भए पनि सम्झौतालगत्तै स्वतन्त्र मधेशको नारा घन्केको अवस्थालाई ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद बाँस्कोटाले सम्झौतानुसार गठबन्धनका संयोजक सिके राउतले कार्यान्वयन गर्नुपर्ने नत्र सरकारले उनलाई गिरफ्तार गर्नुपर्ने सुझाव दिनुभयो ।


सांसद बद्रीप्रसाद पाण्डेले सरकार र राउतबीच भएको ११ बूँदे सम्झौतामा राउत मौन देखिएको बताउँदै सम्झौताको ११ बूँदामा सम्झौता आजैदेखि लागूहुने भनिए पनि सम्झौताकै भोलिपल्ट स्वतन्त्र मधेश लेखिएका तुल प्रदर्शन गरिएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद वृषेशचन्द्र लालले नेत्रविक्रम चन्द नेतृत्वको निर्वाचन आयोगमा दर्ता नभएको नेकपालाई प्रतिबन्ध लगाउनाले राजनीतिक स्वार्थका लागि निर्दोष मारिने र धनजनको क्षति हुने हुनाले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो ।
बैठकको शून्य समयमा बोल्ने सांसदले बर्खा शुरु हुन लागेको हुनाले पुल निर्माणलाई सरकारले तीव्रता दिनुपर्नेमा जोड दिएका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ्गले “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५”, “जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५” र “लेखा परीक्षण विधेयक, २०७५” सम्बन्धी समितिका प्रतिवेदनहरु सभामा प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा)ले राख्नुभएको “राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि सर्वसम्मतले पारित भएको छ । राष्ट्रियसभाको अर्को बैठक बिहिबार बोलाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार