पोखरा, २९ फाल्गुन ।

नेपालमा पछिल्लो समयको राजनितिक घटनाक्रमका विषयमा शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संजालमा आवद्ध संस्थाहरुको तर्फबाट सामुहिक रुपमाजारी गरिएको विज्ञप्ती पछिल्लो समय मुलुकमा नेकपा (विप्लव) समुहद्धारा गराईएको बिष्फोट, चन्दा, आतंक, मानवीय क्षतिका साथै भौतिक सम्पत्तिमा भएको नोक्सानी तथा बन्द हडतालको घोषणा गरेको भन्ने समाचार प्राप्त भएका छन् ।

यसै सन्दर्भमा नेपाल सरकारद्धारा नेकपा (विप्लव) समूहका गतिविधि माथि प्रतिवन्ध लगाउने गरी निर्णय गरेको समाचारले गम्भीर बनाएको भनिएको छ । विज्ञप्तीमा मुलुकमा विद्यमान समस्या र वैचारिक असहमतिलाई वार्ता र संवादद्धारा शान्तिपूर्ण तवरवाट समाधान गर्न सरकार र सम्बद्ध सवै पक्षसंग माग गरिएको छ ।
‘नेकपा (विप्लव) समूहले विगत केही समय देखि मुुलुकका विभिन्न भागमा गर्दै आएको आगजनी, विस्फोट, चन्दाआतंक जस्ता अशान्त पूर्ण गतिविधिका कार्यहरू नेपालको संविधान प्रतिकूल नागरिकको स्वतन्त्रता पुर्वक जीवनयापन गर्न पाउने अधिकारको प्रतिकुल हो’ विज्ञप्तीमा भनिएको छ ।
संजालले विद्यमान कानुनको प्रयोग गरी अशान्त पूर्ण गतिविधिलाई कानूनी रूपमा नै नियन्त्रण गर्न सकिने अवस्थामा राजनैतिक गतिविधि गर्न पाउने हकलाई प्रतिवन्ध लगाउने मन्त्रीपरिषद् बैठकको निर्णयले शान्तिपूर्ण तवरवाट राज्यव्यवस्था संचालन गर्ने प्रयास उचित एवम् तर्क संगत मान्न नसकिने बताएको छ ।



