काठमाण्डौ, २५ माघ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणबारे प्रधानमन्त्रीलाई संसदमा जवाफ दिन माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा कांग्रेस सांसद डिला संग्रौला र भीमसेनादास प्रधानले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको भन्दै जवाफ दिन माग गर्नुभएको हो । संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गर्नुभयो ।

सांसद संग्रौलाले नेपाललाई लामो समयदेखि सहयोग गर्दै आएको अमेरिकालाई सरकारले चिढ्याउने काम गरेको बताउनुभयो । त्यस्तै सांसद प्रधानले भेनेजुएलाबारे कस्ले बोलेको आधिकारिक कस्को हो भनीप्रश्न गर्नुभयो ।
बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गर्नुभयो । त्यसैगरी, हृदयेश त्रिपाठीले ऊखु किसानलाई दिन बाँकी रहेको पुरानो बक्यौता भुक्तानीका बारेमा धारणा राख्नुभयो ।




