पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा बसपार्क क्षेत्रको व्यवस्थापन, संरचना हटाउने कार्य तथा सुकुम्वासी बस्ती व्यवस्थापन सम्बन्धी पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । उनका अनुसार पोखरा बसपार्कभित्र रहेको पेट्रोल पम्पको मेसिनलाई सुरक्षित रूपमा छोपेर राखिनेछ भने अन्डरग्राउन्ड ट्याङ्की रहेको क्षेत्रको सुरक्षामा विशेष ध्यान दिइनेछ । पम्पसँगै रहेको हटाउन बाँकी घरसमेत यथाशीघ्र हटाउने तयारी गरिएको छ ।

सेती नदीतर्फ रहेको बास्तोला कम्प्लेक्स सहित हटाउन बाँकी रहेका संरचनाहरू आज अपराह्न २ बजेदेखि हटाउने कार्य सुरु गरिने उनले जनाएका छन् । गत ४ गते हटाइएको क्षेत्रमा रहेका पुनः प्रयोग गर्न मिल्ने सामग्री सम्बन्धित जग्गाधनीहरूले उठाइसकेकाले अब बाँकी रहेका भत्किएका निर्माण सामग्री तथा हटाउनुपर्ने सामग्री क्रमशः व्यवस्थापन गरी खाली क्षेत्र पूर्ण रूपमा सफा गरिने आचार्यले बताएका छन् ।

सुकुम्वासी बस्ती व्यवस्थापनका क्रममा हालसम्म ५७२ जनामध्ये ३३७ जनाको डकुमेन्ट भेरिफिकेसन सम्पन्न भएको छ । बाँकी विवरण छानबिनको काम निर्धारित समयसीमा भित्र सम्पन्न गर्न सम्बन्धित समितिलाई उनले आग्रह गरेका छन् । महानगरले केही व्यक्तिहरूले तीन पुस्ते विवरणमा गलत वा अपूर्ण जानकारी दिएको पाइएको भन्दै उनले त्यस्तो विवरण प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी दिएका छन् ।


सुकुम्वासी बस्ती व्यवस्थापन नगरी हटाइने छैन भन्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनले केही गैर–सुकुम्वासी तथा असम्बन्धित व्यक्तिहरूले बस्तीभित्र प्रवेश गरी गलत सूचना प्रवाह गर्ने र भ्रम सिर्जना गर्ने कार्य गरेको पाइएको प्रति सचेत रहन आग्रह गर्दै त्यस्ता गतिविधिबाट भ्रममा नपर्न अनुरोध गरिएको छ ।

यसैबीच लालपुर्जा भएका जग्गाधनीहरूको छानबिन कार्यसमेत तीव्र गतिमा भइरहेको जानकारी दिइएको छ । अनधिकृत सूचना प्रवाह तथा राजनीतिक उद्देश्यबाट प्रेरित गतिविधिमाथि निगरानी बढाइने महानगरले जनाएको छ । महानगरले गैर–सुकुम्वासी व्यक्तिहरूलाई सुकुम्वासी समुदायको प्रतिनिधिका रूपमा प्रस्तुत नहुन आग्रह गर्दै समुदायको नेतृत्व स्वयं समुदायभित्रबाट भइरहेको स्पष्ट पारेको छ ।

डकुमेन्ट भेरिफिकेसन प्रक्रिया पूरा भएपछि सुकुम्वासी बस्ती स्थानान्तरण प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार