सार्वजनिक जग्गा संरक्षणको अभियानमा रहेको पोखरा महानगरपालिकाले बिहीबार पृथ्वीचोक स्थित साहारा क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र, जिफन्ट गण्डकी, ट्रेड युनियन कङ्ग्रेस र हिमाली सांस्कृतिक परिवार लगायतका संरचनाहरू हटाउनेछ ।
उनीहरूलाई आफ्ना सामाग्रीहरू स्थानान्तरण गर्नका लागि ३५ दिन बढी समय दिएर खाली भइसकेपछि ती संरचनाहरू हटाउन लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा लामो समयदेखि ती संस्थाहरूले उपभोग गर्दै आइरहेका थिए ।

त्यस स्थानमा रहेका संरचनाहरू हटाएर नयाँबजार तर्फ आउने दुईतर्फी सडक विस्तार गरिनेछ । उक्त आसपासमा रहेका सुकुम्वासीहरूको पनि उचित व्यवस्थापन गरी खाली गर्ने महानगरपालिकाको तयारी रहेको छ । यस कार्यमा आवश्यक समन्वय तथा सहयोग गर्ने सम्बद्ध सङ्घसंस्था तथा सरोकारवालाहरू प्रति नगर प्रमुख आचार्यले आभार प्रकट गर्नुभएको छ ।



