पोखरा महानगरपालिकाको ५३ औँ कार्यपालिका बैठकले Gen-Z आन्दोलनका क्रममा भएको क्षतिको विवरण महानगरपालिकाको क्षति मूल्याङ्कन सम्बन्धी कार्यविधि २०८१ बमोजिम यही असोज १ गते भित्र सङ्कलन गर्ने निर्णय गरेको छ ।
महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार आन्दोलनका क्रममा भएको क्षतिका कारण यथास्थिति र यथास्थानमा सेवा सञ्चालन गर्न कठिन भएकाले यही भाद्र मसान्तसम्म उपयुक्त कार्यस्थल र सा्रेत सामाग्रीहरूको व्यवस्थापन गर्ने र मुलुकको विषम परिस्थितिका कारण बन्द हुन पुगेका अत्यावश्यक बाहेक सबै सेवाहरू तथा महानगर क्षेत्रमा सञ्चालित विद्यालयहरू असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
आन्दोलनका क्रममा महानगरपालिकाको मुख्य कार्यालय र अधिकांश वडा कार्यालयहरूमा आगजनी र तोडफोड भएको छ । नगर प्रमुख धनराज आचार्यले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ भने, महानगरपालिका र मातहतका कार्यालयहरूमा पुगेको क्षति यकिन गरी आवश्यक सरसफाइ, पुनर्निर्माण र कार्यालय व्यवस्थापन कार्य गरी यथाशक्य नागरिकहरूलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।



