पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले एमसीसी नेपालको हित अनुकूल नभएको टिप्पणी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप लगाए । त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दु:ख भोग्नुपरेको समेत बताए । एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै खनालले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको टिप्पणी गरे ।
एमसीसी सम्झौता कार्यान्वयनबारे अझै अस्पष्टता रहेको समेत बताए । नेपालको सार्वभौमसत्ता र राष्ट्रिय हितलाई चुनौती दिने कुनै पनि प्रावधान स्वीकार्य नहुने भन्दै पूर्वप्रधानमन्त्री खनालले एमसीसीबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे ।
-OK



