होटल सङ्घ पोखरा नेपालको आयोजनामा १९ औँ फेवा नववर्ष महोत्सव सुरु भएको छ । पञ्चै बाजा र विभिन्न जातजातिका झाँकीसहित फेवा तालको किनारमा महोत्सव सुरु भएको हो । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर आयोजना गरिएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।
सो क्रममा आचार्यले फेवातालको सिमसार क्षेत्रमा भइरहेको अनधिकृत उक्साहटको गतिलो जवाफ दिने बताउनुभयो । “फेवातालको भविष्यसँग जोडिएको सिमसार क्षेत्रमा भइरहेको अनधिकृत कार्य र नागरिकहरूमा भ्रम छरेर गरिएको उक्साहटका विषयमा महानगरपालिका जानकार छ, उहाँले भन्नुभयो, कानुन विपरीतको काम गर्ने र काम गर्न प्रेरित गर्ने जो कोहीलाई महानगरपालिकाले गतिलो जवाफ दिन्छ, महानगरपालिकालाई बदनाम गर्ने र भ्रम छर्नेहरूको झुट अव लामो समयसम्म टिक्ने वाला छैन ।” राज्यका निकायहरूलाई गुमराहमा राखेर गरिने कुनै पनि अनधिकृत कार्य स्वीकार्य नहुने उहाँले चेतावनी दिनुभयो ।
फेवातालका विषयमा अदालतले गरेको ६५ मिटर सम्बन्धी फैसला कार्यान्वयन गर्ने सन्दर्भमा प्राविधिकहरू खटाएर काम भइरहेको जानकारी दिँदै उहाँले कसैलाई अन्याय नहुने गरी महानगरपालिका अगाडि बढ्ने बताउनुभयो । फेवातालको चारै तर्फको प्राविधिक नाप जाँचको काम भइरहेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारसँग समन्वयमा काम भइरहेको बताउनुभयो । पोखरा पर्यटनको राजधानी घोषणा भएको सन्दर्भ स्मरण गराउँदै प्रमुख आचार्यले यहाँका व्यवसायी र नागरिकको व्यवहार पनि पर्यटक मैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
महोत्सवमा आरती सहित दर्जनौँ झाँकी र जातीय तथा सामाजिक पोसाकमा सजिएका समूहहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार