पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने आन्तरिक तयारी गरिरहेका छन् । पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएका उनिहरुले आगामी चैतमा आफैं घोषणा गर्ने तयारी गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले १२ मंसिरमा गठन गरेको पर्यटकीय राजधानी अध्ययन समितिले २६ पुसमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनलाई आधार मानेर गण्डकी प्रदेश सरकारले पोखरा महानगरपालिका र प्रदेशका अन्य स्थानीय तहको सहभागितामा पर्यटकीय राजधानी घोषणाको तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

पोखरालाई नेपालको दोस्रो ठूलो पर्यटकीय गन्तव्य मानिन्छ । काठमाडौंपछि धेरै पर्यटकले भ्रमण गर्ने शहर पोखरा हो भन्ने गरिए पनि शहर अनुसार पर्यटकको तथ्यांक छैन । पोखरामा बर्षमा कति पर्यटक आउँछन्, उनीहरुले कति खर्च गर्छन्, कुल ग्रार्हस्थ उत्पादनमा पोखरा र यहाँको पर्यटनले दिने योगदान, राजश्वमा गर्ने योगदान, नेपाल आउने पर्यटकमध्ये कति पोखरा आउँछन्, जस्ता तथ्यांक समावेश छैन ।
गण्डकी प्रदेशमा रहेका नदीनाला, ताल, हिमशृंखला, पर्यटकीय गन्तव्य, होटल, बाटोघाटो, रेस्टुरेन्ट, साहसिक पर्यटन र गण्डकी प्रदेश तथा पोखरा महानगरको पर्यटकीय नीति र कार्यक्रमलाई समावेश गरिएको छ । समितिले पोखरामा बढी पर्यटक आउने अनुमानकै आधारमा पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ ।



