एसइई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरी पोखरा महानगरपालिका वडा नं.१३ ले निःशुल्क कम्प्युटर शिक्षा तथा सिप विकास तालिम सञ्चालन गरेको छ । “सीप सिकौँ आफूलाई चिनौँ र आत्मनिर्भर बनौँ” भन्ने नाराका साथ विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिनुभयो ।
तालिमको पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहनु भएका पोखरा २५ का वडा अध्यक्ष मोतीराज तिम्सिनाले उद्घाटन गर्नुभएको हो । उहाँले विद्यार्थीहरूलाई प्रविधिसँग जोड्नका लागि यस प्रकारको तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिकाका सबै वडाहरूमा प्राविधिक तथा सिपमूलक तालिमहरू सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
“पहिलो चरणमा एसइई परीक्षा दिएर बसेका २०० जना विद्यार्थीहरूलाई यो तालिम प्रदान गर्न लागेका छौँ, वडा अध्यक्ष बरालले भन्नुभयो, यस प्रकारका तालिमहरू हामी क्रमशः सञ्चालन गर्दै जाने योजनामा छौँ ।” वडावासीहरूको सिप विकासका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताउँदै उहाँले उनीहरूलाई आयआर्जनका गतिविधिहरूमा जोड्दै लैजाने योजनामा रहेको बताउनुभयो ।
२० दिनसम्म सञ्चालन हुने तालिममा सहभागीहरूलाई कम्प्युटर सम्बन्धी बेसिक कोर्स सिकाइने छ । वडा अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत आभास दाहाल र सञ्चालन वडा सचिव अन्जु गुरुङले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार