पोखरा महानगरपालिका वडा नं.११ कालिखोला देखी काहँुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ । पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गर्नुभएको हो ।
कालिखोलादेखी काँहुकोटसम्म १.८ कि.मि क्षेत्रमा अर्ग्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । “पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो, प्रमुख आचार्यले भन्नुभयो, अव निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले अर्ग्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अर्ग्यानिक उत्पादनहरूको स्वाद लिन सकिनेछ ।”
पोखरा बजार क्षेत्रमा घुम्नका लागि आउने पर्यटकहरूलाई काँहुकोेटसम्म पदयात्रा मार्फत जानका लागि यो उपयुक्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मर्नसङ वाक र इभिनिङ वाकमा जानेहरूका लागि पनि यो पदमार्ग सरल र सहज हुने प्रमुख आचार्यले बताउनुभयो । पोखराको प्राकृतिक भ्युपोइन्टका रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा समेत पदमार्ग निर्माणले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतका अनुसार पदमार्ग स्थानीय कटिङ् डुङ्गाले निर्माण गरिनेछ, भने, ६ इन्च अग्ला ४ हजार सिँढीहरू निर्माण गरिनेछन् । विभिन्न ४ स्थानमा कफिसप सहितका विश्राम स्थलहरू हुनेछन् भने, १० स्थानमा भ्युपोइन्टहरु निर्माण गरिनेछन् । १० फिट चौडाइको पदमार्गको बिचमा रेलिङ र दायाँबायाँ तार बारले घेरिने उहाँले बताउनुभयो ।
१ घण्टा १५ मिनेटमा पुग्न सकिने पदमार्गको सुरुवाती बिन्दु कालिखोलामा प्राकृतिक पौडी पोखरी निर्माण गरिने छ । पहिलो चरणमा ३० लाख बजेट विनियोजन भई काम भइरहेको पदमार्ग २०८० सालभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार