गण्डकी प्रदेशको राजधानी पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नतिको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ ।
आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, एडिबीका कन्ट्रिडाइरेक्टर अर्नाउड कौकोइस, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको हो ।
सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलाइ भएपछि उक्त टोलीले निरीक्षण गरेको हो । गत वर्षदेखि सुरु भएको आयोजनामा हालसम्मको भौतिक प्रगति निकै सुस्त रहेको छ । उच्चस्तरीय टोलीले आइतबार बिहान पोखरा–मुग्लिन सडक खण्ड विस्तार आयोजनाको पश्चिम खण्डको सुरुआत विन्दु पोखराको सेती नदी पुलबाट अनुगमन सुरु गरेको हो । टोलीले हालसम्मको कामको प्रगति, आयोजनाको ढिलाइका कारण र समस्याका बारेमा जानकारी लिएको हो ।
निरीक्षणका क्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले काम तोकिए कै समयमा सम्पन्न गर्न निर्देशन दिनुभयो । कामको प्रगति निकै सुस्त पाइएको बताउँदै उहाँले निर्माणका क्रममा देखा परेका अवरोधहरूको समाधानका लागि आफ्नो पक्षबाट कुनै कसर बाँकी नराखिने प्रस्ट पार्नुभयो । विकास आयोजनाहरूमा भइरहेको विलम्बका कारण आलोचना खेप्नु परेको उल्लेख गर्दै उहाँले अव यस प्रकारका कमजोरीहरू दोहोर्याउने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तदारुकताका साथ निर्माणको कार्यलाई अगाडी बढाउन निर्देशन दिनुभयो । काममा भइरहेको ढिलाइ र गुणस्तरहीन निर्माण कार्य आफूहरूलाई स्वीकार्य नहुने बताउँदै उहाँले निर्माणका क्रममा आउने कुनै पनि प्रकारका समस्याहरूको समाधानका लागि सरकार तत्पर रहेको विश्वास दिलाउनुभयो । काममा हुने ढिलाइले वातावरण प्रदूषणसँगै सवारी आवागमनमा समेत असहजता हुने भएकाले यसलाई तोकिए कै समयमा निर्माण सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गण्डकी प्रदेश कै लाइफ लाइनको रूपमा रहेको पोखरा–मुग्लिन सडकको स्तरोन्नति गर्ने कार्य निर्धारित समयमा सक्नु पर्ने बताउनुभयो । निर्माण कार्यलाई सहज बनाउने सन्दर्भमा आवश्यक समन्वय गर्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो । “पोखरा–मुग्लिन सडक निर्माणका लागि भनेर हामी हाम्रो सबैभन्दा ठुलो घाट ठेक्का नलगाई राखेका थियौँ, प्रमुख आचार्यले भन्नुभयो, तर त्यसका सम्बन्धमा आयोजनाको तर्फबाट कुनै प्रकारको समन्वय सम्म पनि गरिएन, आखिर हामीले हाम्रो आय पनि गुमाउन पर्यो ।” पोखराको विकासमा पनि चासो राख्न आग्रह गर्नुभयो ।

पोखरा–मुग्लिन सडकको पृथ्वीचोकदेखी कोत्रे सम्मको खण्डमा खासै प्रगति नदेखिएको भन्दै प्रमुख आचार्यले स्थानीय सरकारका कारण रोकिएको हो भने, के कति कारणले रोकिएको हो त्यो आफूहरूलाई खुलस्त पार्न सुझाव दिनभयो । यदि स्थानीय सरकार कै कारण निर्माणमा ढिलाइ भएको रहेछ भने तत्काल ती समस्याहरूको समाधानका लागि आफूहरू तत्पर रहेको प्रमुख आचार्यले विश्वास दिलाउनुभयो । पोखरा बचाउनका लागि केन्द्रीकृत मानसिकतालाई त्यागी समान विकासको अवधारणा विकास गर्न जरुरी रहेको उहाँले स्मरण गराउनुभयो ।
सडक विस्तारका लागि विद्युत् पोल र खानेपानीको पाइप स्थानान्तरण, मापदण्डभित्र परेका घरलाई मुआब्जा दिएर खाली गर्ने लगायतका समस्या रहेको आयोजनाले जनाएको छ । एसियाली विकास बैङ्क (एडिबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो बनाउन लागिएको हो ।
पोखरा–मुग्लिन सडक खण्ड विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरेर काम अघि बढाइएको छ । पोखराको पृथ्वीचोकस्थित सेती नदी पुलदेखि तनहुँको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ । सो खण्ड पोखरामा स्थापना भएको मुग्लिन–पोखरा सडक योजना कार्यालयले हेर्ने गरेको छ ।
यसै गरी जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ । यसको कार्यालय गुणादीमा छ । पश्चिम खण्ड निर्माणका लागि सात अर्ब ४० करोड करोड ४६ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनी अनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कम्पनीसँग ठेक्का सम्झौता गरिएको छ, भने पूर्वी खण्ड ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी ली.सँग ठेक्का सम्झौता गरिएको छ ।
यस योजना ४२ महिनाभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने गरी विसं २०७८ जेठमा ठेक्का सम्झौता गरिएको थियो ।



