निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
उपनिर्वाचन सम्बन्धी व्यवस्था प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६८ मा छ । जहाँ भनिएको छ, ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ ।’ यही व्यवस्था अनुसार निर्वाचन आयोगले चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।



