नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता आयोजनामा भएका प्रक्रियागत त्रुटिलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)माथि कारबाही सुरु गर्दैछ ।
राखेपले अन्तर्राष्ट्रिय सम्बन्धनप्राप्त निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को राय पर्खिरहेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा प्रतियोगिता चलिरहँदा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको, श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाएको, खेलाडीले पारिश्रमिक नपाएको लगायतका गम्भीर आरोप लागिरहेकै थियो ।
समितिले २० दिन लगाएर माघ ११ गते बुझाएको प्रतिवेदनमा प्रतियोगिता सञ्चालनका लागि विदेशी कम्पनीलाई अधिकार दिँदा कानूनी प्रक्रिया मिचिएको भन्दै क्यानलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।
विदेशी कम्पनीसँग सम्झौता गर्दा मन्त्रिपरिषदको सहमति लिनुपर्ने व्यवस्थालाई क्यानले वेवास्ता गरेको राखेप अनुसन्धान समितिको ठहर छ ।
यसमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तत्कालीन कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लसमेत समावेश पाँच सदस्यीय कार्यसम्पादन समितिलाई दोषी देखाएको छ र, आईसीसीको समन्वयमा खेलकुद ऐनको धारा २९ (क) बमोजिम कारबाहीका लागि सुझाव दिएको छ ।



