नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता आयोजनामा भएका प्रक्रियागत त्रुटिलाई आधार बनाएर राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)माथि कारबाही सुरु गर्दैछ ।

राखेपले अन्तर्राष्ट्रिय सम्बन्धनप्राप्त निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को राय पर्खिरहेको छ ।

क्यानले ९–२७ पुसमा सम्पन्न गरेको नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग व्यापारिक तथा रणनीतिक साझेदार सम्झौता गरेको थियो । तर त्यही कम्पनीको योजनामा स्पट फिक्सिङ भएको खुलेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा प्रतियोगिता चलिरहँदा लाइभ बेटिङ र स्पट फिक्सिङ भइरहेको, श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाएको, खेलाडीले पारिश्रमिक नपाएको लगायतका गम्भीर आरोप लागिरहेकै थियो ।

प्रहरी अनुसन्धानले पनि त्यसलाई पुष्टि गरेको छ । राखेपले २१ पुसमा नेपाल टी–२० लिगबारे छानबिन गर्न भन्दै समिति गठन गरेको थियो ।

समितिले २० दिन लगाएर माघ ११ गते बुझाएको प्रतिवेदनमा प्रतियोगिता सञ्चालनका लागि विदेशी कम्पनीलाई अधिकार दिँदा कानूनी प्रक्रिया मिचिएको भन्दै क्यानलाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

विदेशी कम्पनीसँग सम्झौता गर्दा मन्त्रिपरिषदको सहमति लिनुपर्ने व्यवस्थालाई क्यानले वेवास्ता गरेको राखेप अनुसन्धान समितिको ठहर छ ।

यसमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तत्कालीन कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लसमेत समावेश पाँच सदस्यीय कार्यसम्पादन समितिलाई दोषी देखाएको छ र, आईसीसीको समन्वयमा खेलकुद ऐनको धारा २९ (क) बमोजिम कारबाहीका लागि सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार