पोखरा घर निर्माणका लागि पोखरा महानगरपालिकाले पृथ्वीचोक स्थित साविक अस्थायी ट्राफिक कार्यालय रहेको स्थान खालि गर्ने कार्य सुरु गरेको छ । मंगलबार त्यस स्थानमा डोजर चलाईएको हो ।
२ रोपनी क्षेत्रफलमा निर्माण गरिने पोखरा घरमा सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी र घण्टाभरका लागि छुट्टाछुटै कक्षहरु निर्माण गरिनेछन् । त्यस स्थानमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भने आफ्नै हङकङ बजार भन्दा माथी आफ्नै भवनमा सरिसकेको छ ।

पोखरामा व्यवस्थित पुस्तकालय र ग्यालरीका लागि उपयुक्त स्थानको अभाव भैरहेको अवस्थामा महानगरपालिका आफैले आफ्नो भवन निर्माण गरि त्यसलाई व्यवस्थित गर्ने योजना बनाइरहेको वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले बताउनुभयो । पर्यटकका लागि सूचना केन्द्र र आकर्षक घण्टाघर समेत निर्माण गरिने उहाँले बताउनुभयो ।
हाल डीपीआर निर्माणको काम भइरहेको पोखरा घर २ वर्षभित्र निर्माण गर्ने महानगरपालिकाको योजना रहेको छ ।



