महाधिवेशन आउन तीन वर्ष बाँकी छँदै कांग्रेसको शेखर कोइराला–गगन थापा समूहभित्र आगामी नेतृत्वलाई लिएर फरक–फरक मतहरु प्रकट भएका छन् ।
संसदीय दलको चुनावमा सोचेजति मत नआएको विश्लेषण हुँदै गर्दा यो समूहभित्र एकत्व हुन नसकेको भन्दै नेताहरुले चिन्ता प्रकट गरेका छन् ।

संसदीय दलको उम्मेदवार चयन, प्राप्त मत, सरकारलाई विश्वासको मत प्रदान, टिकट वितरण लगायतमा आफ्नै समूह एकढिक्का हुन नसकेकोमा शेखर–गगन समूहका नेताहरुले असन्तुष्टि राखेका छन् । राष्ट्रिय र पार्टी भित्रको राजनीतिका विषयमा छलफल गर्न बोलाएको बैठकमा नेता शेखर कोइराला र गगन थापालाई समान धारणा बनाउन सुझाव दिएका छन् ।
बैठकमा गठबन्धनको औचित्य स्थापित हुन नसकेको नेताहरुको ठहर गरेका छन् ।
गठबन्धनका लागि मत मागेपनि सरकार बन्न नसकेपछि औचित्य स्वतः सकिएको सहभागीले तर्क गरे ।
शेखर–गगन पक्षको बैठकको थप रोचक पक्ष यस समूहको बैठकमा पहिलोपटक उर्मिला थपलिया पनि सहभागी भइन् । नेता डा. शशांक कोइराला निकट उनी उक्त पक्षको बैठकमा यसअघि सहभागी नभएको एक केन्द्रीय नेताले जानकारी दिए । साथै, यसै समूहको बैठकमा विरलै देखिने सन्तोष चालिसे पनि आजको छलफलमा सहभागी थिए । बैठकमा २६ सांसद सहभागी थिए ।
शीर्ष तहबाट धारणा राख्नेमा उपसभापति गुरुङ मात्रै छन् । अन्य नेताहरुले मंगलबार विहान हुने बैठकमा आफ्नो विचार राख्ने भएका छन् ।



