पोखराको शहरी क्षेत्रमा पार्किङ शुल्क उठाउने जिम्मा पाएको फेवा सावित्री जेभिसंगको ठेक्का सम्झौता पोखरा महानगरपालिकाले खारेज गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न पोखरा महानगरपालिकाको १० औँ कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।
महानगरपालिकाका प्रवक्ता मोतिराज तिम्सीनाका अनुसार कम्पनीले महानगपालिकालाई तिर्नु पर्ने किस्ता रकम समेत नतिरेपछि ठेक्का सम्झौता खारेज गरिएको हो । कम्पनिले महानगपालिकालाई तिर्नु पर्ने ३ किस्ता बराबरको रकम रु.२ करोड ६ लाख बढि तिर्न बाँकी छ ।
साथै महानगरपालिकाको कोर एरियाको सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत महानगरपालिकाले गरेको छ । पार्किङ व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँगको समन्वयमा आवश्यक व्यवस्थापन गरिने प्रवक्ता तिम्सीनाले जानकारी दिनुभयो ।
अन्डरग्राउन्ड पार्किङ र निजी पार्किङको सम्बन्धमा मापदण्ड तोकी उपयुक्त शुल्क निर्धारण गर्न महानगरपालिकाको यातायात व्यवस्थापन समितिलाई जिम्मेवारी प्रदान गरिएको समेत गरिएको छ ।




