पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा बाधक बनेको ल्याण्डफिल्ड साइट पोखरा महानगरपालिकाले बन्द गरेको छ । तत्कालका लागि फोहोर व्यवस्थापन गर्न पोखरा महानगरपालिका–३२ को लामेआहालमा (राधाकृष्ण वृद्धाश्रम पछाडि) अल्पकालीन फोहोर विर्सजनको व्यवस्था गरिएको महानगरका प्रवक्ता मोतिराज तिम्सीनाले बताए ।
यसअघि टिकट काटेर हेर्न जाने स्तरको ल्याण्डफिल्ड निर्माण गर्ने बताएका महानगरका प्रमुख धनराज आचार्यले तत्कालका लागि फोहोर विसर्जनका लागि पोखरा ३२ लाई छनौट गरेका हुन् । आचार्यले यसलाई ल्याण्डफिल्डको रुपमा परिभाषित गर्न नहुने बताएका छन् । तर, प्रशोधन केन्द्र सहितको ल्याण्डफिल्डका लागि पोखरा ३३ देव्रेवर झाँक्री खोला उपयुक्त भएको अध्ययन समितिको सिफारिस अनुसार थप प्राविधिक अध्ययन गरिने उनले बताए ।

प्रशोधन केन्द्र सञ्चालनको मोडालिटीका विषयमा विज्ञहरूको सुझाव लिइने र प्रस्तावहरु समेत आह्वान गरिने उनले बताए । कार्यपालिका बैठकले ल्याण्डफिल्ड साइटको थप प्रशासनिक व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी प्रदान गरेको छ ।
यस्तै कार्यपालिका बैठकले वडा स्तरीय योजना कार्यान्वयनमा जनसहभागिता हेरफेर समेत गरेको छ । यसअघि (१० देखी ३० प्रतिशतसम्म) रहेकामा अब देखी ग्रामीण वडामा १० प्रतिशत र सहरी वडा १५ प्रतिशत जनसहभागिताको सिमा तोकिएको छ ।
पोखरा महानगरपालिकाको १२ औँ नगर सभा यही पौष २६ गते बिहान ११ बजे पोखरा सभागृहमा बस्ने छ भने, ३१ सदस्यीय सल्लाकार समिति पनि गठन गरिएको छ ।



