नेपाल राष्ट्र बैंकको एक अध्ययनले ५७.९ प्रतिशत जनसंख्यामा वित्तीय साक्षरता रहेको देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय साक्षरतासम्बन्धी आधारभूत अध्ययनअनुसार वाग्मती प्रदेशमा सबैभन्दा बढी ६४.५ प्रतिशत र मधेस प्रदेशमा सबैभन्दा कम ५२ प्रतिशतमा वित्तीय साक्षरता रहेको पाइएको छ ।

त्यस्तै महिलाको तुलनामा पुरुषमा ७.५ प्रतिशत विन्दु बढीमा वित्तीय साक्षरता पाइएको छ । युवा पुस्तामा वित्तीय साक्षरता अझ बढी रहेको अध्ययनले जनाएको छ । १८ देखि ३० वर्ष उमेर समूहमा वित्तीय साक्षरता अंक ६३.२ प्रतिशत रहेको पाइएको छ भने ६० वर्ष कटेकाहरुको वित्तीय साक्षरता जम्मा २७.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अनौपचारिक क्षेत्रको तुलनामा औपचारिक क्षेत्रमा कार्यरत जनसंख्यामा बढी वित्तीय साक्षरता रहेको अध्ययन प्रतिवेदनमा औंल्याइएको छ ।



