पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।
क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना मन्तव्य राख्दै आचार्यले भने हामी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै छौं, पर्यटन क्षेत्रका लागि चाहिने दक्ष जनशक्ति उत्पादनमा जनप्रियले स्वायत्त कार्यक्रम विएमटिम चलाइरहको हुँदा प्राज्ञिक उन्नयनसँगै विशिष्टता हाँसिल गर्न आग्रह गरे ।

पदस्थापनापछि नवनिर्वाचित वीरेन्द्रनारायण अध्यक्ष बिजुक्छेले ‘जनप्रिय क्याम्पस समुदायबाट सञ्चालित शैक्षिक संस्था भएकाले संरक्षक र सिनेटरलाई विशेष सम्मान गर्ने, कर्मचारी र प्राध्यापकको मनोवल बढाउने, आर्थिक मितव्ययिता पालना गर्ने, जवाफदेहिता र पारदर्शिता कायम गर्दै संस्थाको विधि र मर्यादाभित्र रहेर काम गर्ने प्रतिवद्धता गरे । बिजुक्छेले थपे आफू राजनीतिक व्यक्ति भए पनि तीन वर्षे कार्यकालमा जनप्रियभित्र राजनीतिक रङ दिने छैन् । पूर्वाधार विकास र शैक्षिक गुणस्तर वृद्धिमा कुनै ‘कम्प्रोमाइज’ गर्दिन भने ।
अध्यक्षका प्रत्यासी सोमनाथ बरालले राजनीतिक, सामाजिक र शैक्षिक क्षेत्रमा काम गरेर अनुभव हाँसिल गरेको अध्यक्ष क्याम्पसले पाएको हुँदा गुणस्तरको शाख कायम राख्दै, स्वायत्त कार्यक्रमलाई प्रभावकारी बनाउन, शिक्षक कर्मचारीको स्थायी र बढुवा गर्ने कार्यमा कार्यविधि बनाएर काम गर्न सुझाए ।



