पोखरा महानगरपालिकाले २४ वटा फर्महरूलाई उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम स्टार्ट अप अनुदान प्रदान गरेको छ । युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा पोखरा महानगरपालिका अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्र (बिपिसी) अन्तरगत उद्यमशीलता व्यवसाय प्रवर्द्धन तथा नवप्रवर्द्धन केन्द्र (इबीक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत उनीहरूलाई महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसाय स्टार्ट अप अनुदान प्रदान गरिएको हो ।
महानगरपालिकाका प्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सृजनामा यसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘व्यवसाय सञ्चालन तथा रोजगारी सृजनामा पहिलो पाइला महत्त्वपूर्ण हुन्छ, त्यस कारण नवीनतम सोच भएका व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन होस्, प्रमुख आचार्यले भन्नुभयो, व्यवसायमा लगनशीलता बढोस्, एमाउण्टका हिसाबले रकम सानो होला तर पहिलो पाइलामा यो प्राप्त गर्नु महत्त्वपूर्ण कुरा हो ।’ रोजगारी सृजनाका लागि महानगरपालिकाले निरन्तर पहल गर्ने प्रमुख आचार्यले बताउनुभयो ।
सुन्ती पुर्जा (हस्तकला), सरस्वती अधिकारी थापा (गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन), चुत्रल कृषि समूह (कृषि उत्पादन), ग्रिन रोड वेस्ट म्यानेजमेन्ट (प्लास्टिक व्यवस्थापन), एक कल होम सोलुसन (विभिन्न सेवाका लागि प्राविधिकहरू उपलब्ध), सुवास परियार (वातावरणमैत्री झोला प्रवर्द्धन), रेखा कुमारी थापा (गँड्यौला मल प्याकेजिङ), बाबुराम बस्ताकोटी (आर्ट एन्ड ह्याण्डी क्राफ्ट), प्रेम बहादुर वि.क (मेटल उद्योग), महिला सीप विकास संस्था (हस्तकला उत्पादन), पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र (सिकाई प्रवर्द्धन) र जमुना सुनार (हस्तकला) लाई नगद रु.५०÷५० हजारका दरले अनुदान उपलब्ध गराइएको हो ।
यस्तै, झलक प्रसाद बराल (पोल्टी), तारानाथ पहारी (कृषि पर्यटन), पोखरा वर्डस एन्ड एग्रो फार्म (कृषि), ज्योति प्रोभिजन स्टोर (लोकल ध्यु तथा पनिर उत्पादन), पिन शोभा गुरुङ (विषादी मुक्त अर्ग्यानिक उत्पादन), रनदेवी गुरुङ (कृषि तथा पशुपालन), विश्वबन्धु पोखरेल (कृषि तथा पशु), विष्णु माया आचार्य (हस्तकला), पद्मावति खाद्य उद्योग (आयुर्वेदिक औषधी तथा जडीबुटी), बिजुला परिवार (टेलर्स), देविथान कृषि फर्म (कृषि) र ग्रिनवायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि नगद रु.५०/५० हजारका अनुदान सहयोग उपलब्ध गराइएको हो ।
पोखरा महानगरपालिका क्षेत्र भित्र नयाँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा/महिला/वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको इबीक परियोजनाका संयोजक नवराज अधिकारीले बताउनुभयो ।
पोखरा महानगरपालिका अन्तरगत व्यवसाय प्रवर्द्धन केन्द्र (बिपिसी) द्वारा प्रकाशित सूचनाको आधारमा सूचीकृत भई छनौटमा परेका २४ वटा व्यक्ति तथा फर्महरूलाई अनुदान उपलब्ध गराइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार