पोखरा महानगरपालिकाले मुख्य सडकसँग जोडिएका खाली जग्गाहरू भाडामा लिएर पार्किङ प्रयोजनका लागि प्रयोग गर्ने भएको छ । सडकमा जथाभाबी गरिने पार्किङका कारण दुर्घटनाको जोखिम बढेपछि सडकसँग जोडिएका तर, कुनै पनि प्रयोजनमा उपयोग नभई खाली रहेका जग्गाहरू महानगरपालिकाले भाडामा लिएर पार्किङको रूपमा उपयोग गर्न लागेको हो ।
महानगरपालिकाले गरेको सार्वजनिक आह्वान अनुसार सम्पर्कमा आएका जग्गाधनीहरुसंग आवश्यक सम्झौता गरी ती जग्गाहरूलाई पार्किङका लागि उपयोग गर्ने महानगरको तयारी छ । ‘महानगरले पोखराको ट्राफिकलाई थप व्यवस्थित गर्नेगरि सडकमा गरिने पार्किङलाई पुर्णरुपमा विस्थापनको तयारी गर्दै छ, महानगरपालिकाका प्रमुख धनराज आचार्यका स्वकीय सचिव खेमराज आचार्यले भन्नुभयो, अहिले बेसमेन्ट पार्किङहरू खाली गर्नेदेखि महानगरको मुख्य सडकसँग जोडिएका खाली जग्गाहरूलाई पनि पार्किङ कै लागि उपयोग गरिदैँछ ।’ भाडामा लिइएका ती जग्गाहरूमा स्थायी प्रकृतिका कुनै पनि संरचनाहरू निर्माण नगरिने उहाँले बताउनुभयो ।
‘सम्बन्धित जग्गाहरू धनीहरूसँग आवश्यक समन्वय गरी खाली जग्गाहरूमा पार्किङ स्थल बनाउने काम भइरहेको छ, आचार्यले भन्नुभयो, सामान्य गाडीहरू प्रवेशका लागि बाटो बाहेक यहाँ कुनै पनि प्रकारका स्थायी÷अस्थायी प्रकृतिका संरचनाहरू निर्माण गरिने छैनन्, उहाँहरूले चाहेको खण्डमा पोखरा महानगरपालिकाले २४ घण्टा भित्र जग्गा खाली गरिदिन्छ ।’ सम्भव भएसम्म महानगरले मुख्य सडकसँग जोडिएका सबै खाली स्थानलाई पार्किङका रूपमा प्रयोग गर्नेछ ।
पोखरा महानगरपालिका वडा नं.९ की मोहन कुमारी श्रेष्ठको न्युरोड ८ स्थित ६७७२.७० वर्ग मिटर क्षेत्रफल भएको जग्गा र पोखरा ८ का सर्वजित अधिकारीको न्युरोड स्थित ८३३.६० वर्ग मिटर क्षेत्रफलको जग्गा पार्किङका लागि सम्म्याउने काम भएको छ ।
बढ्दो जनघनत्व तथा सहरीकरणका कारण पोखरा महानगरपालिकामा सवारीको चाप दिनदिनै बढिरहेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि व्यवस्थित पार्किङ आवश्यक रहेकामा पोखरा महानगरपालिका चिन्तनशिल छ ।



