पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले आफू जनताको समस्याबाट कहिल्यै नभाग्ने प्रतिबद्धता जनाएका छन् । चुनावी मैदानमा रहेका बरालले भने, ‘म हिजो पनि जनताको साथमा बसेर उनीहरूको समस्या समाधानका लागि राजनीति गर्दै आएको हुँ, आज पनि जनताको सामु उभिएको छु र भोलि निर्वाचित भएपछि पनि म जनताका हरेक समस्याहरूमा सँगै हुनेछु ।’ जनताको समस्याबाट भाग्ने छुट कुनै पनि जनप्रतिनिधिलाई नहुने उनले ठोकुवा गरे ।
स्वार्थ केन्द्रित नेतृत्वले जनताको समस्या सम्बोधन गर्न नसक्ने उनले बताए । आफ्नो क्षेत्रका जनतासँग हातेमालो गर्दै उनीहरूका आधारभूत आवश्यकताहरूको परिपूर्ति सँगै विकास र समृद्धिको यात्रामा अगाडी बढाउनु असल नेतृत्वको दायित्व हुने उनले बताए । आफू जनताले सुम्पने दायित्व सफलता र उत्साहपूर्वक बहन गर्न सक्षम रहेको उनले दाबी समेत गरे । ‘राजनीतिमा मेरो लामो अनुभव छ, मैले यहाँको भूगोल बुझेको छु, यसको विकास र समृद्धिका लागि ठोस आवश्यकताहरूको पहिचान गरेको छु, उनले भने, म निर्वाचित भएर आएपछि यस क्षेत्रलाई नमुनाको रूपमा विकास गर्न आफ्नो सक्षमता देखाउनेछु ।’
उम्मेदवार बरालले यस क्षेत्रको सुशासन, पर्यटन, शिक्षा, स्वास्थ्य, शान्ति, पूर्वाधार विकास, रोजगार र कृषि क्रान्तिमा आमूल परिवर्तन ल्याउने बताए । उनले जनताको विकास र समृद्धिको आकाङ्क्षा पुरा गर्ने कामको थालनी नागरिकको तर्फबाट ४ मङ्सिरमा हुने धारणा राखे । ‘मूल उद्देश्य भनेकै विकास र समृद्धि हासिल गर्ने हो । यो नै गठबन्धन र हामी उम्मेदवारको साझा सङ्कल्प हो । त्यो सङ्कल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात तपाई आमा बुवा, दाजुभाइ दिदीबहिनीले ४ मङ्सिरमा मतदान मार्फत गर्नुहुनेछ र हामीले त्यसलाई तपाईँका प्रतिनिधिको रूपमा हरेक दृष्टिकोणले पुरा गर्न लाग्ने छौँ’ उनले भने ।
बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्र होइन त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र यहाँको संस्कृति मैत्री भएर निर्माण गर्ने प्रतिबद्धता जनाए । सुकुम्वासी समस्याको वास्तविक समाधान, एयरपोर्ट निर्माण गर्दा महत्त्वपूर्ण योगदान पु¥याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्त्वपूर्ण सवालहरूमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने उनको भनाई छ ।
जनताको बिचमा कसरी आइरहन्छन् भन्ने कुरा आफूले उदाहरण प्रस्तुत गर्ने उनले सुनाए । ‘निर्वाचित भएपछि आफ्नो प्रतिनिधिले के गरिरहेको छ भन्ने थाहा नहुने, कहिलेकाहीँ टेलिभिजनका स्किृनमा देखिने होइन । म जनताको घरदैलोमै रहन्छु र संसद्मा यहाँका समस्यालाई मुखरित गर्ने काम गर्छु । जनप्रतिनिधिले यसरी हो काम गर्ने भनेर उदाहरण दिन चाहन्छु,’ उनले भने, ‘मलाई आशा छ तपाइँले मेरो यो चाहना पुरा गर्नुहुनेछ । यहाँले चुनेको प्रतिनिधिले यहाँसँगै रहेर यहाँका अपेक्षा पुरा गर्नेछ ।’
बरालले आफ्ना मतदाताहरू बिचमा आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् ।




