आज छठ पर्वको अन्तिम दिन । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ समापन भएको छ । चार दिनसम्म मनाइएको यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खोर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले व्रत तोडेका छन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो । यस वर्षको छठ पोखराका चार स्थानमा मनाइएको छ । पोखराको नारायण स्थान, केदारेश्वर, काली खोला र माछा पोखरीमा छठ पर्व मनाइएको हो ।


आगामी वर्ष देखी यसलाई उत्सवका रूपमा मनाउने तयारी गरिएको छ । तराईमा मात्र होइन पर्यटकीय नगरी पोखरामा पनि छठ पर्व उत्सवका रूपमा मनाइन्छ भन्ने सन्देश दिनुपर्नेमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको जोड छ । सोही अनुरूप आगामी वर्ष देखी यसलाई थप व्यवस्थित गरिनेछ ।
छठ पूजा लगाइएका चारै स्थानको स्थलगत अवलोकन सहित पूजामा समेत सहभागी हुनुभएका प्रमुख आचार्यले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको थियो भने, सोमबार उदाउँदो सूर्यलाई अर्घ्य समेत दिनुभयो ।
महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा सो गुप्त बास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।



