चुनावी माहोलमा देश होमिईसकेको छ । हिजो मनोनयनदर्ता संगै अब चुनावमा सबै नेताहरु केन्द्रित भएका छन् । धेरै जस्तो स्थानहरुमा गठबन्धनका साझा उमेद्वार छन् भने केही ठाउँमा एकल प्रतिस्प्रधा पनि छ । नेकपा एमाले र जसपामा आएको बिभाजनले धेरै हेवी वेटका नेताहरु एकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने भएका छन् ।
गत स्थानीय तहको चुनावमा वडा तहमा प्राप्त भएको मतलाई आधार मान्दा कतिपय क्षेत्रमा गठबन्धनहरुको मतहरु बराबरीजस्तो देखिएकाले पनि अर्को रोचक अवस्था बनेको छ । कतिपयमा मा टिकट नपाएको भन्दै बागी उमेद्वारी समेत परेको छ । उदाहरणको लागि घनश्याम भुषालले टिकट नपाएको भन्दै स्वतन्त्र उमेद्वारी दिएका छन् । उनलाई सत्तारुढ गठबन्धनले सहयोग गर्ने भएको छ । यता गुल्मीको क्षेत्र नं. २ मा रामकुमारी झाक्री र गोकर्ण बिष्टको भिडन्त हुने भएको छ भने जसपाका अध्यक्ष उपेन्द्र यादबको क्षेत्र सप्तरी–२ मा झन त्रिपक्षीय भिडन्त हुने भएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुर चुनावी भिडन्तमा छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो धनुषा ३ छाडेर सर्लाही क्षेत्र नं. २ नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसंग चुनाबि प्रतिस्प्रधामा छन् । चितवन–१ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका विश्वनाथ पौडेलबीच चुनावी भिडन्त हुने भएको छ । दुबै नेता अर्थतन्त्र र अर्थशास्त्रका अब्बल मानिन्छन् । अर्को हेर्न लायक चुनाव भनेको दाङ २ मा छ जुन ठाउँ नेकपा एमालेका महासचिव शंकर पोखरेल र सत्ता गठबन्धनबाट माओवादी नेता रेखा शर्माबीचको प्रतिस्पर्धा पनि पेचिलो हुनेछ ।
लमजुङमा गण्डकीका पूर्वमुख्यमन्त्री तथा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र माओवादीका महासचिव देव गुरुङबीच पनि रोचक प्रतिस्पर्धा हुँदैछ । एक अर्काविरुद्ध उठ्न नहचाहेका दुबैलाई परिस्थितिले प्रतिद्वन्द्वीका रुपमा खडा गरिदिएको छ ।




