पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित १० किलोमिटर खुल्ला दौडको उपाधि नेपाली सेनाका मोहनदेव जोशीले जितेका छन् । जोशीले निर्धारित दुरी ३५ मिनेट ३१.४ सेकेन्डमा पुरा गरे । प्रथम भएका उनले नगद रु.२५ हजार राशिको पुरस्कार हात पारे । त्यसै गरी गोरखाका नीराजन भट्टराई दोस्रो हुँदै ३६ मिनेट ०४.२ सेकेन्डमा दौड पुरा गरे । तेस्रो स्थान हासिल गरेका गोरखाका नवराज गुरुङले ३६ मिनेट ५०.४ सेकेन्डमा दौड पुरा गरे । चौथोमा गोरखा कै श्याम मग्राती र पोखराका सरोज शर्मा पाँचौँ स्थानमा रहे ।
यसै गरी महिला १० किलोमिटरको उपाधि नेपाली सेनाकी श्यामकली जैसीले जितिन् । उनले ४६ मिनेट ५८.२ सेकेन्डमा दौड पुरा गर्दै नगद २५ हजार राशिको पुरस्कार हात पारिन । त्यस्तै तनहुँकी नम्रता गुरुङ दोस्रो, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट बन्द प्रशिक्षणमा रहेकी नवलपुरकी डोलमाया महतो तेस्रो, चौथो स्थानमा पर्वतकी सङ्गीता विक र पाँचौँ स्थानमा स्याङ्जाकी चन्द्रकला बराल हुन सफल भइन । विजेताहरूले क्रमशः नगद रु.२५, १५, १०, ५ र ३ हजार रुपैयाँ प्राप्त गरे ।
पोखरा महानगरपालिका विद्यालय स्तरीय छात्र ५ किलोमिटर दौडमा भने केफ एकेडेमीका विवेक परियार प्रथम भए । सैनिक आवासीय विद्यालयका प्रवेश आचार्य दोस्रो र कराँते खेलाडी बागमारा डोजोका सुमित सिग्देल तेस्रो भएका छन् । यस्तै छात्रा ५ किलोमिटर दौडमा छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, एलपी देवकोटा स्कुलकी मेनुका अधिकारी दोस्रो, इन्द्रराज्य लक्ष्मी माविकी आइतीमाया गुरुङ तेस्रो, चौथो स्थानमा ज्ञान ज्योति विद्याकुन्जकी पल्लवी नेपाली र पाँच स्थानमा सैनिककी जस्तिना गुरुङ भइन् । विजेता छात्र तथा छात्रा धावकलाई १५, १०, ५ , ३ र २ हजार प्रदान गरिएको छ ।
महानगरले छैटौँदेखि १० औं स्थानसम्म आउने धावकहरूलाई नगद १ हजार रुपैयाँबाट पुरस्कृत गरेको छ ।



