नेकपा एमालेका नेता घनश्याम भूसालले प्रतिनिधिसभा विघटन कुनै पनि हिसाबले क्षम्य नभएको टिप्पणी गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कम्युनिस्ट आन्दोलन, संकट र अबको बाटो विषयक कार्यक्रममा बोल्दै उनले संविधानमा संसद विघटन गर्न नपाइने व्यवस्था गरेकाले संसद विघटन क्षम्य हुन नसक्ने बताएका हुन् ।

‘संसद २०१७ मा राजाले हानेर के भयो ? २०४८ पछि दरबार, माओवादी र भारतको तारो भएर अकालमा संसद मरेको थियो । संसद विघटन गर्न नपाइने भनेर संविधानमा लेख्यौं । संसद विघटन क्षम्य हुनै सक्दैन’, उनले भने, ‘बच्चाको टाउको लिखा पर्यो भनि पेट्रोल छर्केर जे जे गर्न पर्ने हो गरियो ।’
उनले अहिले कम्युनिस्ट पार्टीहरु आफ्नै कारणले खुम्चिनुपरेको पनि बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तीन कम्युनिस्ट पार्टी एक ठाउँमा रहेका भए स्थानीय ५७५ पालिकामा जित निकाल्ने उनले दाबी गरे ।



