सम्पर्कविहीन भएको भोलीपल्ट फेला परेको तारा एयरको जहाजमा सवार कोही पनि जिवित नरहेको घट्नास्थल पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताएका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जहाज टुक्रा टुक्रा अवस्थामा छ भने जहाजमा सवार चालक दल तथा यात्रुहरुको अवस्थामा पनि क्षतविक्षत अवस्थामा फेला परेको छ ।

जहाजमा आगो नलागेको भएपनि पहाडमा ठोक्किएर टुक्रा टुक्रा भई छरिएको छ । जहाजमा सवार यात्रुहरुको शव संकलनको काम भैरहेको शेरचनले बताए । हाल उद्धारटोली सो स्थानमा पुगेको छ ।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सो जहाज सम्पर्कविहीन भएको थियो । ९ एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार