नेपालमा हवाई उडान सुरु भएको ७३ वर्ष भएको छ। पहिलो पटक सन् १९४९ मा चार सिट क्षमताको बोन्यान्जा बिचक्राफ्टा अवतरण गरेको थियो।

सन् १९५० मा हिमालय एभिएसन डाकोटा चार्टर फ्लाइट भएको थियो। त्यसलगत्तै राजा मेहन्द्रले गौचरण विमानस्थल (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) उद्घाटन गरेका थिए।

सन् १९५८ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडान सुरु गरेको थियो। सन् १९६४ मा त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाएको थियो। नेपालमा हवाई दुर्घटना भने सन् १९५५ देखि हुन थालेको हो।

सन् १९५५ को मार्चमा अन्तर्राष्ट्रिय उडानको कालिंगा एयरको भीटी–एजेटएक्स डीसी–३ विमान बाराको सिमरामा दुर्घटना भएको थियो। यो नै नेपाली भूमिमा भएको पहिलो विमान दुर्घटना हो। दुर्घटनामा दुई जनाले ज्यान गुमाएका थिए भने एक यात्रु घाइते भएका थिए।

त्यसपछि नेपाली आकाशमा हरेक वर्षजसो आन्तरिक वा अन्तर्राष्ट्रिय विमान दुर्घटना भइरहेका छन्। विमान दुर्घटनाका कारण हालसम्म ६७० जना यात्रुको ज्यान गएको छ।

सन् १९७९ मा नेपालमा पहिलोपटक लाङटाङमा हेलिकप्टर दुर्घटनामा परेको थियो। जसमा परेर ६ जनाले ज्यान गुमाएका थिए।

नेपाली आकाशका बढी दुर्घटनाको इतिहास आन्तरिक विमानकै छ। हालसम्म ४६ आन्तरिक विमान दुर्घटना भइसकेका छन्। यसबाहेक ३१ हेलिकप्टर र सात अन्तर्राष्ट्रिय उडानका विमान दुर्घटना भएको क्यानको तथ्यांकमा उल्लेख छ।

सन् १९९२ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटना भएको थियो। जुन हालसम्मकै ठूलो विमान दुर्घटना हो। जसमा १५७ जना यात्रुले ज्यान गुमाएका थिए।

सन् १९९२ मै नुवाकोटको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना पर्‍यो। दुर्घटनामा११३ जनाले ज्यान गुमाएका थिए।
सन् २००० मा डडेल्धुरामा भएको नेपाल एयर लाइन्सको डीएचसी विमान दुर्घटनामा २५ यात्रुले ज्यान गुमाएका थिए। जसलाई आन्तरिकतर्फको ठूलो घटना मानिन्छ।

ताप्लेजुङमा सन् २००६ मा भएको श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटनामा २४ जनाको ज्यान गएको थियो। हेलिकोप्टर दुर्घटनामा बढी मानवीय क्षति भएको एउटा घटना हो। जसमा परी तत्कालीन वनमन्त्री गोपाल राईलगायत उच्च सरकारी अधिकारीहरूको निधन भएको थियो।

सन् २०१२ मा भक्तपुरको मनोहराखोलामा सीता एयरको विमान दुर्घटनामा १९ जनाको ज्यान गएको थियो।

सन् २०१६ मा म्याग्दीमा भएको तारा एयरको विमान दुर्घटनामा २३ र सन् २०१० मा ओखलढुंगामा भएको तारा एयरकै विमान दुर्घटनामा २२ जनाको ज्यान गएको थियो।

२०७४ मा हुम्लाको सिमिकोट विमानस्थलमा भएको तारा एयरको विमान दुर्घटना भएको थियो। निर्वाचनमा खटिएका सुरक्षाकर्मी बोकेको विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको थियो। विमानमा सवार चालक दलका सदस्यसहित सातजना घाइते भएका थिए।

२०७४ मै लुक्ला विमानस्थलमा समिट एयरको कार्गो विमान दुर्घटनामा परी पाइलट र कोपाइलटले ज्यान गुमाएका थिए।
नेपाली आकाशमा सबैभन्दा बढी नेपाल एयरलाइन्सका १५ विमान दुर्घटना भएका छन्। नेपाल एयरलाइन्स सन् १९६१ मा पहिलोपटक भैरहवामा दुर्घटना भएको थियो। पछिल्लोपटक सन् २०१४ मा अर्घाखाँचीमा नेपाल एयरलाइन्स दुर्घटनामा परेको थियो।

नेपाल एयरलाइन्सको इतिहासमा हालसम्म १२ वटा डबल इन्जिन र सिंगल इन्जिन क्षमताका तीन विमान दुर्घटनामा परेका छन्। अहिले नेपाली आकाशमा सिंगल इन्जिन विमान उडान गर्न पाउँदैनन्।

नेपाली आकाशमा हालसम्म सात अन्तर्राष्ट्रिय विमान दुर्घटनामा परेका छन्। नेपालको पहिलो हवाई दुर्घटना पनि अन्तर्राष्ट्रिय एयरकै थियो। पछिल्लो पटक चार वर्षअघि यूएस–बाङ्ला एयरको विमान दुर्घटनामा परेको थियो।

 

पोखरा–जोमसोम रुटमा छैटौँ दुर्घटना

पोखरा–जोमसोम रुटमा आइतबार भएको छैटौँ ठूलो दुर्घटना हो। बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङमा दुर्घटनामा परेको हो। विमानमा सवार २२ जनाको अवस्था अज्ञात छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार तारा एरको ९–एनएईटी ट्विनेटर विमान अन्तिमपटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानीसम्म सम्पर्कमा थियो।

विमान जोमसोमका लागि पोखराबाट बिहान ९ः५५ बजे १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको थियो।

यही रुटमा यसअघि पाँच विमान दुर्घटना भएको प्राधिकरणको तथ्यांक छ।

पोखरा–जोमसोम रुटमा २०५५ सालमा लुम्बिनी एयरको विमान दुर्घटना भएको थियो। जसमा १८ जनाको मृत्यु भएको थियो।

उक्त रुटमा २०५९ सालमा दुई दुर्घटना भएका छन्। जेठमा अग्नि एयरको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु र ६ जना घाइते भएको तथ्यांक छ।
सोही वर्ष भदौमा भएको सांग्रिला एयरको दुर्घटनामा १८ यात्रुले ज्यान गुमाएका थिए।

२०७० सालमा नेपाल वायु सेवा निगमको विमान दुर्घटनामा परेको थियो। अन्तिमपटक पनि तारा एयरकै विमान दुर्घटना भएको तथ्यांक छ। २०७२ मा भएको तारा एयरको दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो।

 

-Himalpress

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार