पोखराबाट जोमसोम जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज खोजीमा परिचालन भएको हेलिकप्टर मौसम खराब भएपछि फर्किएको छ ।
नेपाल नागरिक उड्डन प्राधिकरणका अनुसार विमानको अवस्थाबारे खोजतलासका लागि फिस्टेल हेलिकप्टरलाई पठाइएकोमा प्रतिकुल मौसमका कारण उक्त हेलिकप्टर जोमसोम फर्किएको छ ।

पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।
पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन ।
पोखराबाट जोमसोम जाँदै गर्दा सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजीमा प्रतिकूल मौसम बाधक बनेको छ । मौसम खराब भएका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङ प्रहरीले जनाएको छ ।
पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको ९ एन एईटी टि्वनअटर जहाज लेतेपास नजिक पुगेपछि सम्पर्कविहीन भएको थियो । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । सो जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना छन् ।



