राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन् ।

 

सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवस-२०७९ का अवसरमा आज शुभकामना दिंदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवम् सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताए ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक,अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् ।

पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका हुन् ।

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन भरपर्दो विकल्प भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो धारणा राखेका हुन् । उनले जारी गरेको शुभकामना सन्देशमा लेखिएको छ, ‘देशको परिवर्तन र अग्रगमन सहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम-लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प हो ।’

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यका अंगहरुको दुरुपयोग गरी लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने काम भइरहेको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या÷अपव्याख्याद्वारा प्रहार गर्ने काम भइरहेको छ ।’

 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन नसकेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै नेपालले सो कुरा बताएका हुन् ।

‘सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहीत रही जननिर्वाचित प्रतिनिधिबाट शासन सन्चालन हुने व्यवस्था उत्कृष्ट राजनीतिक प्रणाली भए पनि अझै हाम्रो जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन सकिरहेको छैन,’ पूर्वप्रधानमन्त्री नेपालले शुभकामना सन्देशमा लेखेका छन्, ‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन सकेको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार