बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं.४ मा पुनः मतदान गर्न गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी चन्द्र आर्यालले माग गरेका छन् । वडा नं. ४ का दुवै मतदान स्थल छोरेगाउँ मा.वि र हिमालय आधारभुत विद्यालयमा मतदान स्वच्छ नभएको भन्दै अर्यालले पुनः मतदानको माग गरेका हुन् ।
ति मतदान केन्द्रमा व्यापक मात्रामा फर्जीमत खसाईएको भन्दै प्रत्यासी अर्यालले शुक्रबारको मतदान स्थगित गरि पुनः मतदान गर्न माग गरेका हुन् । उनको निवेदनमा भनिएको छ्, ‘ढोरपाटन नगरपालिका वडा नं. ४ को छोरेगाउँ मा.वि र हिमालय आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदान स्वच्छ र निष्पक्ष नभएको भनि तत्कालै मैले सम्बन्धित निर्वाचन अधिकृतहरुलाई जनाकारी गराउँदा पनि वेवास्ता गरि करिब २० प्रतिशत मतदान गराई फर्जीमत ब्यापक रुपमा खसाएकाले ति स्थानको मतदान बदर गरि पुनः स्वच्छ एंव निष्पक्ष मतदान गराईपाँउ भनि यो निवेदन पेश गर्दछु ।’

साथै उनले उक्र प्रक्रियाको निश्चितता नभएसम्म पाँच दलिय गठबन्धनको तर्फवाट मतगणनामा आफु पनि सामेल नहुने र प्रतिनिधि पनि नपठाउने बताएका छन् । र, जारी विवादको अन्त्य नभएसम्म मतगणना कार्य सुरु नगर्न पनि उनले माग गरेका छन् । कुल २७१३ मतदाता संख्या रहेको वडा नं. ४ मा १८६१ मत खसेको छ ।
ढोरपाटन नगरपालिकामा पाँच दलिय गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल र नेकपा एमालेको तर्फबाट निवर्तमान मेयर देव कुमार नेपाली प्रमुख पदका प्रत्यासी छन् । ढोरपाटन नगरपालिकाको पाँच वर्षे कार्यकालमा नेपालीले विभिन्न योजनाहरुमा आर्थिक चलखेल गरेको र नगरको विकासमा खासै ध्यान नदिएको आरोप लाग्दै आएको छ । ९ वटा वडा रहेको ढोरपाटनमा वडा नं. ४ बाहेक सवै वडा र नगरपालिका समेत भाडामा बस्दै आएका छन् ।



