पोखरा १६ बाटुलेचौर एमालेबाट मेयरको उम्मेदवारी दिएका कृष्ण थापाको आफ्नो वडा हो । आफ्नो वडामा उम्मेदवारलाई गतिलो मत आउने लगभग निश्चित हुन्छ ।
तर विडम्बना, कृष्ण थापाको हकमा यस्तो हुन नसक्ने प्रबल सम्भावना छ । कारण, उनले आफ्नै वडाका थुप्रै मतदातालाई बिच्काएका छन् । हेपेका छन् । विभेद गरेका छन् ।

पोखरा १६ मा थुप्रै दलित बस्तीहरु छन् । यो वडाको कुरा गर्दा दलितको मत नै निर्णायक मत हो । शान्तिदीप, संगमचोक, गल्र्याङ, अर्मला, जैमुरे, लामाचौर क्षेत्रमा छरिएर रहेका दलितहरुको संख्या करिब ७ हजारको हाराहारीमा छ । पुरै वडाको मतदाताको संख्या हेर्ने हो भने करिब १३ हजार मतदाता नामावलीमा उल्लेख छन् ।
‘यो पटक कृष्ण थापालाई दलित समुदायको मत राम्रो आउँदैन ।’ वडा नम्बर १६ का स्थानीय कृष्ण गायक भन्छन्–‘सबैले नै हाल्दैनन् भनेर त म भन्न सक्दिन । तर धेरै कम संख्यामा कृष्ण थापाको पक्षमा दलितको मत आउँछ । तर अत्याधिक मत चाहिँ उनको विरुद्धमै आउने निश्चित छ ।’
वडा नम्बर १६ को यो झिल्को भूसको आगो जसरी महानगरको सबै वडामा सल्किसकेको छ । ‘पार्टीले यो पटक कृष्ण थापालाई मेयरमा उठाएर राम्रो काम गरेन ।’ पोखरा २६ का एक दलित एमाले नेताले नाम नबताउने शर्तमा भने–‘हाम्रो समुदायको आन्दोलनलाई त्यसरी दुत्कार्ने व्यक्तिलाई म पार्टीको मान्छे भएपनि भोट हाल्दिन । बरु अन्य दलका र स्वतन्त्रबाट उठेका राम्रा व्यक्ति छानेर मत हाल्छु ।’ एउटा विभेदकारी मानसिकताबाट संचालित व्यक्तिलाई दलित समुदायले भोट हाल्दा आन्दोलन नै खतरामा पर्ने उनी बताउँछन् ।
उता पोखरा महानगरकै शिशुवाका प्रकाश बिकले मेयर उम्मेदवार थापालाई समतामुलक समाजको ‘खलनायक’को रुपमा चित्रण गर्छन् । ‘समतामुलक समाज निर्माणमा दलित आन्दोलन लागिरहेको सन्दर्भमा त्यही आन्दोलनलाई नै प्रभाव पार्ने गरि अभिव्यक्ति दिने र व्यवहार गर्ने व्यक्तिलाई हामी कसरी पोखराको मेयर भएको देख्न सक्छौँ ?’ प्रकाश प्रतिप्रश्न गर्छन् ।
त्यसो त कृष्ण थापाप्रति दलित समुदाय यो तहमा रुष्ट भएको २ वर्ष अगाडिको घटनाले हो । तत्कालिन समयमा उनकै वडामा उनकै सहपाठी मोहन सुनारमाथि उनका खलकका केही व्यक्तिले जातकै कारण दुव्र्यवहार गरे । दुव्र्यवहार सहन नसकी मोहन सुनारले उनका क्षेत्री समुदायका २ जनामाथि किटानी जाहेरी दिए । र, प्रहरीले उनीहरुलाई पक्राउ गर्यो । जब आफ्ना समुदायका मानिसलाई प्रहरीले पक्राउ गर्यो, तब कृष्ण थापाले आफ्नो असली रुप देखाए । उनले उल्टै विभेदकारीको पक्षपोषण गर्दै दलित समुदायलाई जातीय सद्भाव बिथोलेको आरोप लगाए ।

प्रदेश सांसदकै हैसियतमा उनले विज्ञप्ती नै जारी गरेर विभेदकारीको बचाऊ गर्दै दलित समुदायमाथि अपमान गर्ने काम गरे । त्यसयता पोखराको दलित समुदायले उनलाई रुचाउँदैनन् । उनले दलित समुदायसँग माफि माग्नुपर्ने दबाब परेपनि उनले अहिलेसम्म दलित समुदायलाई चित्त बुझ्दो जवाफ दिन सकेका छैनन् ।
पछिल्ला दिनहरुमा पनि उनी चुनावी घरदैलोको क्रममा विभिन्न संघसंस्था र मिडियाको आयोजनामा हुने गरेका सार्वजनिक सुनुवाई कार्यक्रम यही विषयमा उत्तर दिनुपर्ने कारणले ‘स्किप’ गरिरहेका छन् ।
दलित समुदायको मतदाताले कृष्ण थापालाई मत हाल्नु भनेको दलित आन्दोलनकै बेवास्ता गर्नु भएको धारणा राख्छन् अधिवक्ता शिव सुनार । उनले एउटा कम्यूनिष्ट आन्दोलनमा लागेको व्यक्तिले दलित आन्दोलनलाई नै प्रभाव पार्ने गरि अभिव्यक्ति दिएर कृष्ण थापाले ठूलो गल्ती गरेको आरोप लगाउँछन् ।
‘कम्यूनिष्ट पार्टीको जिम्मेदवार व्यक्ति र सांसदले जातको आधारमा भएको विभेदको घटनामा जसरी दलित समुदायलाई अझै बढि विभेद गर्ने काम गरे । त्यो कुरा कुनै पनि दलित समुदायको लागि सह्य होईन ।’ अधिवक्ता शिव सुनार भन्छन्–‘ तत्कालिन समयमा प्रहरी अनुसन्धानलाई प्रभावित गर्ने गरि कृष्ण थापाले विज्ञप्ती निकाले । उनको विज्ञप्तीले दलित समुदायलाई उल्टो विभेद गर्यो । उनको सोँचमा जातिबाद हाबी छ । जातिबादी सोँच हावी भएको मान्छेलाई दलित समुदायले भोट हाल्नुहुदैन ।’
त्यसो त कृष्ण थापा र १६ नम्बरका केही क्षेत्री समाजका व्यक्तिहरुबाट प्रत्यक्ष विभेद भोग्ने व्यक्ति बाटुलेचौरका मोहन सुनार हुन् । आस्थाले नेकपा एमालेसँग नजिक भएपनि यो पटक उनी कृष्ण थापालाई मत नहाल्न अनुरोध गर्दै दलित समुदायको घरदैलोमा पुगेका छन् । ‘उनी विभेदलाई अंगालेर बस्ने मान्छे हुन् । कृष्ण थापाले जित्नु भनेको दलित समुदायको हार हुनु हो । त्यसैले यो पटक कृष्ण थापालाई मत नहाल्नुस् भन्दै म दलितहरुको घरदैलोसम्मै पुगेर अनुरोध गरिरहेको छु ।’ मोहन सुनार भन्छन् ।

पोखरा महानगरको पछिल्लो तथ्याङ्क हेर्दा कुल २ लाख ७ हजार १२ मतदाता छन् । र, यसमा दलित समुदायको हिस्सा १३ देखि १५ प्रतिशत भएको तथ्याङ्कले देखाउँछ । यो प्रतिशतमध्ये अधिकांश दलित मतदाताले कृष्ण थापालाई भोट नहाल्ने पोखराका दलितसम्बन्धि संघसंस्थाहरु दाबी गर्छन् ।



