सत्ता गठबन्धनबाट पोखरा महागरका उम्मेदवारले विदेशमा रहेका नागरिकलाई देश फर्किन आग्रह गरेका छन् । साधन, स्रोत र अनेक सम्भावना रहेकाले पोखरामा रोजगारीका अनेक अवसर सिर्जना गर्न सकिने उनीहरुले बताए ।
उनले भने, ‘परिवर्तनको अनुभूति चाडै दिन्छौं, ६ महिनाभित्रै आहा पोखरा भन्ने अनुभूति दिलाउँछौं । कार्यकाल सकिँदा पोखरा आधुनिक अन्तर्राष्ट्रिय सहर बन्नेछ ।’
सोमबार पोखरा २७ मा भएको चुनावी सभामा मेयर उम्मेदवार धनराज आचार्यले धेरै नेपाली बाध्यताले विदेशिएको उल्लेख गर्दै घर फर्किन आग्रह गरेका हुन् । आचार्यले भने, ‘तपाईहरु त्यहाँ आर्जन गरेको ज्ञान, सीप लिएर फर्किनुस्, हामी रोजगारी दिन्छौं ।’
उनले देशकै ठूलो पोखरा महानगर प्रवेश गर्नेबित्तिकै फरक अनुभूति दिने खालका संरचना बनाउने प्रतिवद्धता गरे । पोखरा प्रवेशका ३ नाका कोत्रे, छोरेपाटन र हेमजा फेदीमा आकर्षक प्रवेशद्धार बनाइने उनले बताए । अहिलेको पोखरा महानगरका जनप्रतिनिधिले सिंहदरबारको अधिकार गाउँमा आएको आभास दिलाउन नसकेको उनको टिप्पणी छ ।

उनले भने, ‘अहिलेको नेतृत्वले लक्ष्य अनुरुपको सेवा दिएन । भनसुनबाट काम हुने, सिस्टममा नहुने, टेबुलमुनि हात नछिराई कामन नहुने खालका गुनासा पनि आएका छन् ।’ आचार्यले गठबन्धनको नेतृत्व आएमा वडा र महानगरबाट हुने सबै काम सिस्टमबाट हुने व्यवस्था मिलाउने बताए ।
उनले भने, ‘नेतृत्वले कर्मचारीले काम गर्न दिएन भनेर उम्किन पाइदैन । सबै काम म भन्ने कुरामाथि माथि उठेर हामी भन्ने गर्ने छौं ।’ पोखराभित्र ३ खालका पोखरेली मनोविज्ञान रहेको उल्लेख गर्दै उनले सबैलाई सँगसँग हिँडाउने प्रतिवद्धता जनाए । आचार्यले भने, ‘पोखराभित्रै ३ पोखरा छन् । पुरानो पोखरा उपमहानगर, पछि थपिएको लेखनाथ नगर र पछि थपिएका वडाहरु । ग्रामीण वडामा पूर्वाधार र मुख्य बजार क्षेत्रमा आवश्यक संरचना बनाएर सबै क्षेत्रको समुचित विकास गर्ने छौं ।’
तनहुँको आदिकवि भानुभक्त आचार्यको जन्मस्थल जसैगरी लेखनाथ जन्मस्थललाई पनि पर्यटकीय गन्तव्य बनाउने योजना उनले सुनाए । उनले थपे, ‘ इतिहासलाई सम्मान गर्न नसकिए वर्तमान राम्रो बन्न सक्दैन । अर्घाै अचैलेमा २ वर्षभित्र सबैले हेर्न जाउँ भन्ने खालको स्थल बनाउने छौं । ’
वडा नं. ३३ र २७ जोड्ने पुल बनाउन पहल लिने उनको भनाइ छ । विजयपुर पारीको क्षेत्रलाई स्याटालाइट सिटीको रुपमा विकास गर्ने उनले सुनाए ।
नेपाली कांग्रेसबाट गठबन्धनकी साझा उपमेयर कोपिला रानाभाटले घोषणापत्रका अघि सारिएका एजेन्डाहरु कार्यान्वयन गर्दै समृद्ध महानगर बनाउने प्रतिवद्धता गरिन् । उनले टोल टोलमा उत्पादन बढाउन आमा समूहहरुलाई उत्पादनका लागि बिउँपुजी दिने प्रवितद्धता गरिन् ।
महानगरमा पछि परेका वडाको विकासमा गठबन्धनले विशेष ध्यान दिने उनको वाचा छ । रानाभाटले भनिन्, ‘हामीलाई महानगरमा थपिएका वडाहरु ओझेलमा परेको अनुभव भएको छ । यस्तो अनुभूति हटाएर यहाँका बासिन्दालाई महानगरबासी भएको अनुभव गठबन्धनले दिलाउनेछ ।’



