पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य नै कार्यालयको विज्ञापन करको ठेक्का सम्झौता विरुद्धमा उभिएका छन् । पोखरा महानगरपालिका–४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाले सो ठेक्का सम्झौताको विरोध गरेका हुन् ।
ठेक्का पाएको कम्पनीले पोखराका व्यवसायीहरुलाई हतोत्साहित बनाएको उनको आरोप छ । व्यवसायीहरुलाई अनावश्यक दवाव तथा दुख दिने कम्पनी र पोखरा महानगर विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन् ।
‘महानगरको बोर्ड बैठकमा व्यापक छलफल नभइ व्यवसायीहरुमाथि लादिएको यो करले राजश्व संकलनमा सघाउँदैन बरु करको दायरा बढाउने महानगरकै मान्यतालाई आघात पुर्याउँछ’,विज्ञप्तिमा भनिएको छ,‘ यो निर्णयले पोखराको बढी राजश्व संकलन हुने मुख्य व्यापारिक केन्द्र वडा नम्बर ४ सहितका व्यवसायीहरुको तेजोवध गरेको छ भने सो क्षेत्रबाट व्यवसाय विस्थापनको खतरा बढाएको छ ।’
महानगरले विज्ञापन कर उठाउने ठेक्का साइन हव प्रालि भन्ने कम्पनीलाई दिएको छ । सम्झौता अनुसार १० वर्ग फुटभन्दा माथिका सबै प्रचार सामग्रीको शुल्क तिर्नुपर्ने छ । सम्झौताको सोही प्रावधानमा टेकेर कम्पनीले व्यावसायिक प्रतिष्ठानहरुलाई शुल्क तिर्न ताकेता गरिरहेको छ ।्
व्यवसायीहरुले भने व्यावसायिक प्रतिष्ठानको चिनारीको लागि राखिने बोर्डको शुल्क नतिर्ने अडान राखेका छन् । अध्यक्ष बास्तोलाले समस्या समाधानको लागि आफु सहजीकरण गर्न तयार रहेको पनि बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार