गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा गण्डकी प्रदेशका विभिन्न जातीको नृत्यका बारेमा अनुसन्धान भइरहेको छ । गत माघ १ गतेबाट सुरु भएको अनुसन्धान कार्य चैत्र मसान्त भित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए । जसका लागि अनुसन्धान कर्ताहरु अहिले गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगिरहेका छन् ।
अध्ययन अनुसन्धान उपसमिति संयोजक गुरुङका अनुसार अनुसन्धानकर्ताले आगामी चैत्र ३० गते भित्रमा अनुसन्धान प्रतिवेदन सहितको सामाग्री बुझाउने गरेर समय तोकिएको छ । हाल अनुसन्धानकर्ता मार्फत अक्षर र भिडियो समेतका जानकारीहरु संकलन गरिरहेको गुरुङको भनाई छ । “अनुसन्धानकर्ता मार्फत अक्षर र भिडियो समेतको जानकारी संकलन भइरहको छ, भिडियो लाइवेरिमा राखिनेछ” उनले भने ।
यो वर्ष सबै जातीलाई समेट्न नसकेपनि बाँकी जातीलाई क्रमैसँग अर्कोवर्ष छनोट गर्दै अनुसन्धान गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । अनुसन्धान आफैमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटो समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपउन्मुख नृत्यको अनुसन्धान र छायाङ्कन गर्न लागिएको उनले बताए । यसरी छायाकंन गर्ने नृत्यहरू २३ मिनेट देखी २ घण्टा ५८ मिनेट सम्मका हुने उनको भनाईछ ।
लोपोन्मुख नृत्यको संरक्षण गर्दै नयाँ पिंडीलाई यस्ता नृत्यबारे जानकारी दिनको लागि यो कार्य गरिएको सदस्य सचिव श्रेष्ठले जनाकारी दिए । “अब हामी श्रव्य दृश्य कक्ष तयार गर्ने छौ जहां हामीले अनुसन्धान बाट प्राप्त गरेका यथार्थ कुराहरू नया पिंडीलाई देखाउने छौँ” उनले भने । यो अनुसन्धान कार्यको लागि १४ जना अनुसन्धानकर्ता छनोट भएका थिए । तीनैै अनुसन्धानकर्ता मार्फत यतिबेला प्रदेशका विभिन्न जातीका लोक नृत्यको बारेमा अनुसन्धान गरेर त्यस्ता नृत्यको भिडियो छायाकंन गर्ने काम भइरहेको छ ।
छनोट भएका अनुसन्धानकर्तामा थकाली जातीको लागि ज्योति भट्टचन, कुमाल जातीको लागि ईश्वर कुमाल, छन्त्याल जातीको लागि हरिचन छन्त्याल, माझी जातीको लागि नम्रता केसी, गुरुङ जातीको लागि तेज बहादुर गुरुङ, मगर जातीको लागि मनोज घर्ती मगर, थारु जातीको लागि डा.विष्णु कुमार सिञ्जाली रहेका छन् ।
यसैगरी दरै जातीको लागि राज कुमार दरै, तामाङ जातीको लागि कुमार तामाङ, दुरा जातीको लागि लाल बहादुर भुजेल, ब्राम्हण तथा क्षेत्री जातीको लागि खगराज शर्मा, नेवार जातीको लागि रमेश लिगल, दमाई जातीको लागि बसन्त खनाल र गन्धर्व जातीको लागि डा.तुलसी राम खनालले अनुसन्धानकर्ताको जिम्मेवारी पाएका छन् ।
उनिहरुले तोकिएका जातजातिहरुको मौलिक नृत्यको गहन अध्धयन गरि त्यसको विकास, प्रवद्र्धन र संरक्षणका लागि आवश्यक सुझाव समेत प्रतिष्ठान मार्फत सम्बन्धित सरोकारवालाहरुलाई सुझाव दिनेछन् । अनुसन्धान मार्फत ति मौलिक नृत्यहरुको हालको अवस्थामा सुधार तथा परिमार्जनमा थप बल पुग्ने अनुमान पनि गरिएको छ ।
विविध मौलिक संस्कृतिको संरक्षण चुनौतीपुर्ण बनिरहेका बेला यो प्रकारको अनुसन्धानले स्वाभाविक रुपमा केही आशाहरु थपिने जानकारवालाको तर्क छ । उनिहरुले नेपाली लोपोन्मुख अवस्थामा पुगेका संस्कृतिहरुको बेलैमा संरक्षण गर्न नसकिए लोभ भएर हराउने अवस्था आउनसक्ने बताएका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर बिखर्ची भन्छन्, “गण्डकीमा ति हजाँरौ मौलिकतामा आधारित लोकसंस्कृतिहरु छन्, जसको पहिचान गर्नै बाँकी छ, अहिले थालिएको यो असाध्यै सानो प्रयास हो, तर पनि हामी अर्थपुर्ण नतिजाको खोजिमा छौँ । र, हामी उद्देश्यमा सफल हुनेछौँ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार