बुधबारदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ ।
भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी/विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले बैठक बोलाउन पटक-पटक भारतलाई आग्रह गर्दै आएपनि भारतले कोरोनाको महामारीको कारण देखाएर अलमल गर्दै आएको थियो ।
काठमाडौंमा हुने बैठकको पहिलो दिन भोलि नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्य समूह -जेडब्लुजी)को बैठक बस्ने छ । बैठकले टुंगो लगाएका विषयहरु दोस्रो दिन हुने सचिवस्तरीय बैठकमा पेश हुनेछन् । नेपालको तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीले र भारतको तर्फबाट भारतीय ऊर्जासचिव आलोक कुमारले नेतृत्व गर्नेछन् ।
बैठकमा मुख्य रुपमा नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसरणलाइन आयोजना र निर्माण र जलविद्युत क्षेत्रको लगानीबारेमा छलफल हुनेछ । बैठकमा ‘न्यू बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण गर्न भएको सहमति कार्यान्वयनको अवस्थाबारे समीक्षा हुनेछ ।