अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमा सहमति खोज्न बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।

बिहीबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बोलाइएको संसद बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव गरेका थिए । ‘तपाईंहरु जे सुकै गर्नुस्, सरकारले पेश गर्छ’ देउवाको भनाइ उधृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

देउवाको भनाइमा जोड दिँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौता कम्तीमा संसदमा टेबल हुन दिन आग्रह गरे । उनले गठबन्धन पनि जोगाऔं र कम्तीमा एमसीसी टेबल गरौं भनेका ती नेताले बताए ।

संकल्प प्रस्तावको विकल्प

बैठकमा कांग्रेस महामन्त्री थापाले संसदबाट एक संकल्प प्रस्ताव पास गरेर एमसीसी अनुमोदन गर्ने प्रस्ताव राखेका थिए ।

तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘धेरै अगाडि बढिसक्यो’ भन्दै त्यसलाई अस्वीकार गरेका बैठकमा सहभागी एक नेताले सुनाए ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका थिए ।

उनीहरुले एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।

अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको भन्दै दुबै दलका नेताहरुले एमसीसीबारे पनि छलफल गर्नुपर्ने बताएका स्रोतको भनाइ छ । उनीहरुले एमसीसी संसदमा टेबल गर्नुअघि एमालेसँग सम्वाद गरेर अवरोध हटाउने वातावरण बनाउन प्रधानमन्त्री र कांग्रेस नेताहरुलाई आग्रह गरेका छन् ।

त्यसपछि गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार