नेकपा एमालले गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई कटुआलोचना सहितको २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । पत्रमा एमालेले नेपाली नेतृत्वको वर्तमान सरकारलाई लोकतन्त्रीक चरित्र विरुद्धको सरकार समेत भनेको छ । पत्रमा भनिएकोछ, “राजनीतिक पूर्वाग्रहका साथ विकास योजनाहहरुलाई हेर्नु र विकासका कामलाई ढिला गर्नु लोकतान्त्रिक चरित्र होइन । यसले विकासमा समन्यायिकता प्रदान गर्दैन ।”
प्रदेश सरकरको रवैयाका कारण जनताको अपेक्षामा कुठाराघात भएको भन्दै एमालेले सरकारको चर्को आलोचना गरेको छ । अघिल्ला आर्थीक वर्षहरुमा ठेक्का प्रक्रियामा गैसकेका गौरवका योजनाहरुको निरन्तरताका विपरित साना र खुद्रे योजनाहरु धेरै बनाउने काममा संलग्न भएको र सरकारको यो प्रवृति समृद्ध गण्डकी प्रदेश सुखी प्रदेशवासीको लक्ष्य विपरीत रहेको एमालेले बताएको छ ।
एमालेले बहुवर्षीय योजनाहरु समयमा नै सम्पन्न गरि बजेटको दुरुपयोग र विकासमा देखिएको विलम्बताको अन्त्य गरिनुपर्ने बताएको छ । एमाले नेतृत्वको अघिल्लो सरकारका पालामा एकघर एकधाराको अवधारणा अनुरुप सवै प्रदेशवासीलाई स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउँनको साटो वर्तमान सरकारले त्यसको समेत बजेट कटौती गरेर जनताको अधिकार कुण्ठित गर्ने काम गरेको भन्दै चर्को आलोचना गरेको छ ।
एमालेले बाढिका कारण क्षेति पुगेका स्थानहरुमा पुर्ननिर्माण नगरेको, विपत्तिमा परेका कृषकहरुलाई राहत नदिएको, गठबन्धन सरकारले एक घर एक पिसिआर भन्ने आफ्नै नारा विर्सिएको, निर्वाचन क्षेत्र विकास कार्यक्रमका योजनाहरुको कार्यान्वयन, नेकपा एमाले संसदीय दलसँग २०७८ असोज ३ मा भएका सम्झौताको कार्यान्वयन, सात महिना सम्मपनि बिकास खर्च गर्न नसकेको, सुशासन, कर्मचारी व्यवस्थापन, गण्डकी विश्वविद्यालय, गण्डकी टेक्निकल इन्स्टिच्युट, ताल प्राधिकरण, विकास प्राधिकरण, जिल्ला अस्पतालको सुदृढीकरणमा बजेट कटौती गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराईएको छ ।
मुख्यमन्त्री जलवायु मैत्री नमुना गाउँ र होमस्टे जस्ता गण्डकीका मौलिक कार्यक्रम कार्यान्वयनमा सरकारको ध्यान नपुगेको, एक निर्वाचन क्षेत्र एक सडक, प्रत्येक पालिका केन्द्रमा सडक सञ्जाल पु¥याउने अभियानमा सरकार बिचलित भएको, गण्डकी प्रहरी तालिम केन्द्रका लागि अमेरिकाबाट प्राप्त हुन सक्ने सहयोग लिने काममा ध्यान नगएको, बेरुजु रकम असुली गर्ने काममा ध्यान नगएको, भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकारले ध्यान नदिँदा भ्रष्टाचार संस्थागत रुपमा बढ्दै गएको, संघीयताको मर्म मुताबिक काम गर्ने कुरामा प्रदेश सरकार असफल भएको एमालेले आरोप लगाएको छ ।
साथै ध्यानाकर्षण पत्रमा एमालेले मुख्उमन्त्री नेपालीलाई विगतमा गरेका प्रतिबद्धताहरु केवल सत्ता हत्याउन मात्रै थिए वा जम्मेवार बन्न पनि थिए भन्ने प्रश्न समेत गरेको छ । एमालेले थप भनेको, के तपाई हिजोका प्रतिबद्धता प्रति इमान्दार र जवाफदेही हुनुहुन्छ ? के तपाइले नेकपा एमाले संसदीय दलसँग गरेका सम्झौता र वाचा पूरा गर्नुभयो ? लगायतका सवालहरुमा एमालेले मुख्यमन्त्री नेपालीको पुन ध्यानाकर्षण गराएको प्रमुख सचेतक मायानाथ अधिकारीले जनाएका छन् ।




