उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी पनि छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा परि मृत्यु भएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा यो घटना भएको हो । धेरै जनाको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको छ । भारी हिमपातका निम्तिएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।
पाकिस्तानको मौसम विभागले जनवरी ६ तारिखदेखि ९ तारिखको बीचमा मुरी र गलियत क्षेत्रमा भारी हिमपात हुने भविष्यवाणी गरेको थियो ।
बन्दुकधारीहरूले नाइजेरियामा करीब दुई सय जनाको हत्या गरेको स्थानीयले बताएका छन् । लुटेराहरूको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रको जाम्फारामा २०० जनाको हत्या गरेको स्थानीयलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
आक्रमणबाट श्रीमती र आफ्ना तीन सन्तान गुमाएका उमारी माकेरी नाम गरेका एक व्यक्तिले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार बन्दुकधारीहरुले १५४ जनाको शव गाडेका थिए । केही शव संकलन गरी सेनाले सामूहिक अन्त्येष्टि गरेको थियो ।

मोटरसाइकल चढेर आएका करीब ३ सय जना आक्रमणकारीले १० वटा गाउँमा आक्रमण गरेको बताइएको छ । आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ ।



