नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले व्यवहारिक हिषावले केपी ओली नेतृत्वको नेकपा एमाले आफुहरुको पहिलो प्रतिद्धन्द्धी भएको बताएका छन् । आफुहरुले कुनै फरक व्यवहार नगरेको भएपनि ओली नेतृत्वको एमालेले आफुहरुलाई शत्रु घोषणा गरेको अध्यक्ष नेपालले बताए ।
पोखरामा आयोजित पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अहिले कम्युनिष्ट विचारबाट स्खलित भई विचार विहिन एक पात्र केपी ओलीको निजि कम्पनिका रुपमा रुपान्तरण भएको टिप्पणी गरे । विचारको बहस नभई एक पात्रको देवत्वकरणमा एमाले रमाइरहेको उनको बुझाई छ ।
नेपालले भने, “आफु र आफ्नो पार्टीलाई शत्रुतापुर्ण व्यवहार गरिरहेका केपी ओली अहिले असल राजनीतिक संस्कारलाई तिलाञ्जली दिएर व्यक्तिवादको उन्मादमा मख्ख छन्, उनको कम्पनिमा विचारको बहस सुनिदैन्, कुनै वादको गन्ध आउदैन्, गफ लगाएर जनतामा भ्रम छर्ने र गुटको निमार्ण गर्ने काममा उनि व्यस्त छन् ।” राष्ट्रका लागि केपी ओलीबाट अव कुनै अपेक्षा गर्न नसकिने अध्यक्ष नेपालले स्पष्ट पारे ।

निरन्तर संसद अवरोध गरिरहेको एमालेका अध्यक्ष ओलीको आफुलाई देखेपछि सातो जाने गरेको उनले बताए । उनले भने, “केपी ओली हाम्रो अनुहार रुचाउदैनन्, हाम्रो अगाडी पर्दैनन्, त्यसकारण संसदमा पनि गएका छैनन्, किनकी मलाई देखेपछि उनको सातो जान्छ । सातो जाओस्, तर नेपाली जनताको जानु हुदैन् ।” सभामुखलाई ढुक्क भएर सदन संचालन गर्न उनले आग्रह समेत गरे । आफुहरुलाई किन कार्वाही नगरेको भनि सभामुखलाई धारे हात लगाईरहेको एमालेसंग नडराई निरन्तर संसदका गतिविधिहरु संचालन गर्न सभामुखलाई उनले आग्रह गरे । सदन संचालनमा आफुहरुको पुर्ण साथ र सर्मथन रहने उनले बताए ।
ओलीको प्रवृत्तिका कारण दिक्क भएका नेता तथा कार्यकर्ताहरुलाई निर्धक्क भएर आफ्नो पार्टीमा प्रवेश गर्न उनले आह्वान समेत गरे । विगत देखी नै ओली प्रवृतिका कारण पार्टीमा अन्यायमा परेर बसेका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिईने भन्दै उनले ओलीको त्यो व्यक्तिवादको उन्मादमा विलिन नहुन सुझाव दिए । ओली आफ्नै अहंकारले सत्ताबाट च्युत हुन पुगेको अध्यक्ष नेपालले स्मरण गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार