नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले हालको गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली आत्तिएको बताएका छन् । पोखरामा आयोजित पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले गठबन्धन भत्काउने शर्तमा ओली एमसिसि पास गर्ने पक्षमा रहेको टिप्पणी गरे ।
उनले भने, “यदि गठबन्धन तोड्छौ भने, नेकपा एकिकृत समाजवादीलाई गठबन्धनबाट अलग गराउँछौ भने हामी एमसिसिको पक्षमा सहयोग गर्न भोट हाल्न तयार छौँ भनेर नेकपा एमालेका अध्यक्ष केपी ओलीले भनिरहेको अवस्था छ ।” मन्त्री श्रेष्ठले आफुहरुले एमसिसिको विषयमा गहनरुपमा छलफल तथा अध्ययन गरेको उल्लेख गर्दै एमाले जस्तो राष्ट्रघात गर्ने पक्षमा नरहेको बताए ।
पार्टी गठबन्धन बनाउने र भत्काउने भन्दा पनि राष्ट्रको हित अनुकुलको काममा लाग्ने उनले बताए । आफुहरु सरकारमा रहुन्जेल देश र जनताको पक्षमा अहोरात्र खटिने प्रतिवद्धता समेत मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् ।




